Hot Posts

समानुपातिकबाट को-को बन्दै छन् रास्वपाका सांसद ?

 समानुपातिकबाट को-को बन्दै छन् रास्वपाका सांसद ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षफर्त १२५ सिट जित्दा समानुपातिकमा ५१ लाख ५४ हजार ९४८ मत ल्याएको छ । समानुपातिकमा रास्वपाले पाएको मत ४७. ८१ प्रतिशत हुन आउँछ । समानुपातिकतर्फ रास्वपाले करिब ५७ जना सांसद निर्वाचित हुने निश्चित छ । 


मतगणना अन्तिम हुँदै गर्दा राष्ट्रिय दल बन्नेमा नेपाली कांग्रेस (१७ लाख ५५ हजार ४७९), नेकपा एमाले (१४ लाख ५२ हजार ६३७), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) (८ लाख ९ हजार ५३०), श्रम संस्कृति पार्टी (३ लाख ८५ हजार ७०५), राप्रपा (३ लाख ३० हजार २२७) रहेका छन् । 


निर्वाचन आयोगमा राजनीतिक दलहरूले गत १३ पुसमा बन्द सूची बुझाइसकेका छन् । अब आयोगले सेन्ट लक विधिमा आधारित रहेर प्रतिशतमा क्लस्टर अनुसार सांसद संख्या निर्धारण गर्नेछ । दलहरूले पाएको सिटको आधारमा बन्द सूचीमा रहेका नाम अनुसारका उम्मेदवारहरूको नाम माग गर्छ । 


‘दलहरूले विभिन्न क्लस्टरअनुसार बुझाएका बन्द सूची छन् । त्यसमा यो यो क्लस्टरमा यति जना उम्मेदवारको नाम पठाउनुस्  भन्छौँ । क्लस्टर अनुसारको सिट संख्या भन्छौँ,’ निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले शिलापत्रसँग भने, ‘महिला ३३ प्रतिशत पुर्‍याउन सुरुमा दलित क्लस्टर वा अन्य क्लस्टरबाट पनि महिला लिन पाउनुभयो । यो विषयमा आयोगको टिमले काम गरिरहेको छ ।’ 


दलहरूले बुझाएको उम्मेदवारको नामका रुजुपछि समानुपातिकतर्फका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरणको काम हुन्छ । अहिले रास्वपाले प्रत्यक्षतर्फ ११२ जना पुरुष र १३ जना महिलाहरूले प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।  अब रास्वपाले संसदमा कुल महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउनुपर्छ । कुल १८३ को ३३ प्रतिशत ६०.३९ हुन्छ । त्यसैले रास्वपाबाट बढीमा ६० जना महिला सांसदमा छानिनुपर्ने हुन्छ । तीमध्ये पनि १३ जना त प्रत्यक्षतर्फबाट चुनिइसकेका छन् । रास्वपाले अब ४७ जना महिला सांसद समानुपातिकबाट छान्नुपर्नेछ भने १० जना पुरुष सांसद क्लस्टर अनुसार छान्नुपर्नेछ । 


कानुनी व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ को सिरियल नम्बरबाट नै निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । 


यसरी रास्वपाले १० पुरुष सांसदमा खस आर्यको कोटा ३.१ जना अर्थात् ३ जना सांसद पाउनेछ । त्यस्तै, जनजातिले २८.७ अर्थात २ वा तीन जना सांसद पाउनेछ । मधेशी पुरुषले १५.३ प्रतिशत अर्थात् १ वा २ जना सांसद पाउनेछ । यस्तै, दलितले १.३५ प्रतिशत अर्थात् एक जना मात्रै सांसद पाउनेछ । 


थारू पुरुषतर्फ ६.६ प्रतिशत अर्थात एक जना निर्वाचित हुनेछन् । यस्तै, मुस्लिमतर्फ ४.४ अर्थात् एक जना वा निर्वाचित नै हुन नसक्ने सम्भावना रहन्छ । 


अब महिलातर्फ मत विभाजन गर्दा ४८ जनालाई क्लस्टरअनुसार विभाजन गर्दा खस आर्य १५, जनजाति १४, मधेशी ८, दलित ६, थारू ३ र मुस्लिम २ जनाको नाम आयोगमा पठाउनुर्पेछ ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments