व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवा बाढी प्रभावितका लागि आफ्नो पसलमा रहेको २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गर्ने घोषणा गरेकी छन्।
उनका अनुसार पसलमा करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपडाको स्टक रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको नयाँ कपडा प्रभावितहरूलाई निःशुल्क उपलब्ध गराइनेछ।
सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै सिम्खडाले विपद्को समयमा व्यवसायीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको बताएकी छन्।
आफ्ना दिदीबहिनीहरू आधारभूत आवश्यकताबाट वञ्चित भइरहेका बेला पसलमा कपडा सजाएर राख्नुको अर्थ नदेखेको उनको भनाइ छ। आवश्यक परेका मानिसले नै ती कपडा पाउनुपर्ने उनले बताएकी छन्।
खुट्टा फ्याक्चर भएकाले चिकित्सकले लामो यात्रा नगर्न सल्लाह दिएका कारण आफू प्रभावित क्षेत्रमा पुग्न नसकेको उनले उल्लेख गरेकी छन्। त्यसैले वास्तविक रूपमा आवश्यक परेका मानिससम्म सहयोग पुर्याउन आधिकारिक सरकारी निकाय वा विश्वसनीय संस्थालाई आफूसँग सम्पर्क गर्न उनले आग्रह गरेकी छन्।
सिम्खडाले आफ्नो सहयोगलाई प्रचारको माध्यम नबनाउनसमेत अनुरोध गरेकी छन्। सहयोगका लागि सम्पर्क गर्दा पत्रकार वा क्यामेरा लिएर नआउन आग्रह गर्दै उनले यो मानवीय सहयोग भएकाले प्रचार आवश्यक नरहेको स्पष्ट पारेकी छन्।
उनले अन्य व्यवसायीलाई समेत विपद्को समयमा व्यापारभन्दा मानवतालाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
‘व्यापार गर्ने समय फेरि आउँछ’ भन्दै उनले विपत्तिमा परेका नागरिकको बाध्यताबाट फाइदा उठाएर कमाएको पैसाले सन्तुष्टि नदिने बताएकी छन्।
सिम्खडाले सबैलाई आफूले सक्ने सहयोग गर्नसमेत अपिल गरेकी छन्। खाना, बस्ने ठाउँ, पैसा वा श्रममध्ये आफूले जे सकिन्छ, त्यही सहयोग गरेर विपद्मा परेकालाई साथ दिन उनले आग्रह गरेकी छन्।

0 Comments