नेपाली बालगीत ‘आफैँसँग आफैँ दङ्ग युट्युब शर्ट्समा पार गर्यो १ अर्ब भ्युजको आँकडा
नेपाली बालगीत ‘आफैँसँग आफै दङ्ग’को शर्ट भिडिओले युट्युबमा १ अर्ब (बिलियन) भ्युजको आँकडा पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । रामबाबु सुवेदीको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले आठ महिनाको अवधिमा यो दुर्लभ आँकडा पार गरेको हो ।
गीतका सङ्गीतकार दीपक शर्माले यो शर्ट भिडिओ नेपालकै पहिलो ‘अर्ब क्लब’ मा पुगेको गीत भएको दाबी गरे । १७ फेब्रुअरी २०२५ मा अपलोड भएको यस भिडिओमा यो सामग्री तयार पार्दासम्म एक अर्ब २३ करोडभन्दा बढी भ्युज तथा झन्डै ६० लाख लाइक रहेको छ ।
“यो अर्ब क्लबमा पुग्ने नेपालकै पहिलो म्युजिक भिडिओ हो । हरेक दिन ४० देखि ५० लाख भ्युज बढिरहेको छ,” टेकपानासँग कुरा गर्दै शर्माले भने, “गीतको शब्दले भन्दा पनि यसको भावले विश्वभरका अडियन्सलाई छोएको जस्तो लाग्छ ।”
भिडिओमा प्रयोग गरिएको सबटाइटल र सहज भावले विश्व जगतका श्रोतालाई जोड्न सफल भएको उनको भनाइ छ । यस गीतमा रामबाबु सुवेदीको शब्द र बालबालिकाको स्वर रहेको छ ।
यस्ता भिडिओले सिर्जनाकर्तालाई थप प्रेरणा मिलेको र यसले थप अन्तर्राष्ट्रिय स्तरका सामग्री सिर्जना गर्न प्रोत्साहन गर्ने शर्माको भनाइ छ ।

0 Comments