बझाङकी सामान्य गृहिणीको एक टिकटक भिडिओ, जसले ‘झुम्की’लाई ६ वर्षपछि एकाएक बनाइदियो भाइरल
“चालिसे घट्टको ढुङ्गो टुटी बाइग्यो खोला, तानी लान्छु ओय झुम्की जसो होला होला,” यदि तपाईँ टिकटक चलाउनु हुन्छ भने यी शब्दहरूसँग पक्कै परिचित हुनुहुन्छ होला । धेरैले त यो गीतमा टिकटक भिडिओ बनाएर पोस्ट पनि गर्नु भएको होला ।
टिकटकमा भाइरल भएको उक्त अन्तरा ‘झुम्की’ बोलको गीतको अंश हो । टिकटकमा अहिले चर्चित भएपनि यो गीत सार्वजनिक भएको भने ६ वर्षभन्दा धेरै समय भइसक्यो । आधुनिक देउडा बताइएको यो गीत सार्वजनिक हुने बित्तिकै त्यति चर्चामा आएको थिएन ।
तर अहिले भने कर्णाली-सुदूरपश्चिमका देउडा पारखीले मात्र होइन, पूर्वदेखि पश्चिमसम्मका सबै नेपालीले मन पराइरहेका छन् । टिकटक भिडिओ बनाएर शेयर गरिरहेका छन् ।
उक्त भाइरल गीतका गायक तथा सङ्गीतकार हुन्, विष्णु भट्ट । डोटीमा जन्मिएका ३५ वर्षीय भट्टले दिपायलमा रहेको रेडियो नेपालको क्षेत्रीय कार्यालयबाट आठ/नौ वर्षको उमेरमा गायन यात्रा सुरु गरेका थिए । उनले लाइभ गजल, आधुनिक गीतमा स्वर दिएका छन् ।
लाइभ गजल मन पाउनेहरू माझ उनी चर्चित नै छन् । तर धेरै चलेका गीतहरू भने एकाध मात्र छन् । पाँच वर्ष पहिले कार्टुन क्रुज म्युजिक भिडिओमा रहेको ‘छक्कै परेँ’ बोलको गीतले २१ लाख भ्युज कटाएको छ । यो चोटि भने टिकटकमा नै लाखौँ प्रयोगकर्ताले झुम्की गीतका विभिन्न क्लिपमा भिडिओ बनाएपछि उनको एकाएक चर्चा हुन थालेको छ ।
यता टिकटकमा ६ वर्षपछि ‘झुम्की’ गीत भाइरल हुनुको पछाडि भने कुनै ठुलो कन्टेन्ट क्रियटर वा सेलेब्रेटीको हात छैन । बझाङको एक गाउँमा गृहिणी जीवन बिताइरहेकी ‘सबु धामी’ ले तिहार ताका राखेको ५९ सेकेन्ड लामो भिडिओका कारण नै यो गीत यसरी भाइरल भइदियो ।
सबुले १४ अक्टोबरमा “तिहारको तयारी साथी सँगै रमाइलो पल” भन्दै टिकटकमा भिडिओ राखिन् । भिडिओमा केही युवतीहरू रातको समयमा स्पिकरमा झुम्की गीत बजाएर सँगसँगै गाउँदै नाचिरहेका देखिन्छन् ।
सबुको प्रोफाइल हेर्दा उनी कुनै ठुलो कन्टेन्ट क्रियटरले जस्तो भिडिओ बनाउन लागिपरिरहेकी देखिदिँनन् । सामान्य प्रयोगकर्ता झैँ आफ्नो दैनिकीबाट फुर्सद मिलेको समयमा टिकटक भिडिओ बनाउँछिन् ।
उनको टिकटकमा जम्मा दुई हजार ८१५ जना मात्रै फलोअर छन् । एक वर्षभन्दा पहिलेदेखि उनले टिकटकमा सयौँ पोस्ट गरेकी छन् । सबै भिडिओ गरेर उनको टिकटकमा ५९ हजार लाइक छ । त्यो मध्ये झुम्की गीतको भिडिओमा मात्र ३७ हजार बढी लाइक आएको छ । उनले राखेको उक्त भिडिओमा सो सामग्री तयार पार्दासम्म ६ लाख ९४ हजारभन्दा बढी भ्युज छ । उनले स्पिकरमा बज्दै गरेको झुम्की गीतसँग गाउँदै राखेको भिडिओको अडियोमा मात्रै एक लाख ३२ हजार बढी भिडिओ बनेका छन् ।
सबुले राखेको भिडिओ भाइरल बनेसँगै पुराना र गीतका ओरिजनल क्लिपमा भनि थुप्रै भिडिओ बनेका छन् । टिकटकमा ‘smilemiyaofficial’ ले १० महिना पहिले राखेको अडिओ प्रयोग भएर ९० हजार बढी भिडिओ बनेको छ । यस्तै अन्य प्रयोगकर्ताले राखेका झुम्की गीतका अडिओ प्रयोग गरेर साढे ३ लाख भन्दा धेरै भिडिओ बनिसकेका छन् ।
६ वर्षपछि आएर गीत एकाएक भाइरल हुन्छ भनेर आफूले कहिल्यै कल्पना नगरेको गायक भट्ट बताउँछन् । उनले टेकपानासँग भने, “गीत त राम्रो छँदै थ्यो । तर एक्कासि यति धेरै चर्चा पाउनु चाहिँ अनपेक्षित हो । गीत धेरै दर्शक माझ पुग्दा एकदमै उत्साहित छु । गायकको जिन्दगी एउटा गीत चर्चित भएर मात्र चल्ने होइन । अब आगामी यात्रामा अझै गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्छ भन्ने प्रेरणा मिलेको छ ।”
उनले सामाजिक सञ्जालमा झुम्कीले हात पारिरहेको सफलतालाई नजिकबाट नियालिरहेको सुनाए । “सुरुमा ती बहिनीहरू (सबु धामी लगायत) ले गाउँदाखेरि मान्छेले गीतको शब्द नबुझेरै पनि यसको मेलोडी र गायकीका कारण टिकटक बनाए । पछि मान्छेले गीत बुझेर भिडिओ बनाउन थाले । त्यसपछि टिकटकरहरूले पपुलर भएका कारणले मन पराए । यो गीतमा एकै जनाले पाँच ओटासम्म भिडिओसम्म बनाएका छन् ।”
अहिले गीत धेरै चर्चित भएपछि डान्स स्टुडिओहरूले पनि यो गीतमा नृत्य गरेका भिडिओहरू राखिरहेका छन् । डान्सिङ नम्बरका रूपमा पनि यो गीतको क्लिपहरू भाइरल भएका छन् । सुदूरपश्चिमको शैलीमा बनेको गीतले पूर्वी नेपालको धनकुटा, इलामसम्म चिनाएको बताउँदै देशव्यापी आफूलाई चिनाउने गीत नै झुम्की बनेको उनले बताए ।
गायक भट्ट यसअघि गजल र सेन्टिमेन्टल ट्र्याकमा बढी गाउँथे । अहिले झुम्कीको चर्चासँगै रोमान्टिक र डान्सिङ नम्बरको पनि उनलाई अफर आउन थालेका छन् । गीत पुनः चर्चामा आएसँगै पडकास्टरहरूले पनि आफूलाई बोलाइरहेको उनले सुनाए । “मिडियाहरूमा गएर दर्दनाक पीडा वा आँसु देखाउने कथावस्तु मसँग छैन । बाल्यकालदेखि निरन्तर गायनमै छु । गीत पपुलर भएसँगै अझै सिरियस हुन पर्छ भन्ने भान भएको छ,” उनले भने ।
झुम्कीको डिजिटल राइट्स लिएको कम्पनी एभरेस्ट ग्यालरीका प्रमुख कार्यकारी अधिकृत सनम कठायत पछिल्लो एक महिनामा झुम्की गीतले निकै ठुलो सफलता हासिल गरेको बताउँछन् । उनी भन्छन्, “६ वर्षसम्म युट्युबमा दुईदेखि तीन लाख भ्युजमा अड्किएको थियो । टिकटकमा पनि चार-पाँच हजार जति भिडिओ बनेका थिए । अहिले टिकटकमै नौ लाखभन्दा धेरैले यो गीतमा भिडिओ बनाइसक्नु भएको छ ।”
टिकटकमा भाइरल भएपछि युट्युबमा खोजेर पूरा गीत सुन्नेहरू पनि ह्वात्तै बढेका छन् । एभरेस्ट ग्यालरीको युट्युब च्यानलमा ६ वर्ष पहिले राखिएको झुम्की गीतको ओरिजिनल म्युजिक भिडिओले यो सामग्री तयार पार्दासम्म करिब १० लाख भ्युज पाइसकेको छ ।
गीत भाइरल भएपछि २६ अक्टोबरमा ४ मिनेट २६ सेकेन्ड लामो भिडिओलाई लम्ब्याएर ८ मिनेट १० सेकेन्ड लामो बनाएर पुनः अपलोड गरिएको छ । उक्त भिडिओले पनि युट्युबमा ७ लाख १७ हजारभन्दा धेरै भ्युज बटुलेको छ ।
सीईओ कठायतले आर्थिक रूपमा पुरानो भिडिओबाट मनिटाइजेसनको रूपमा कम पैसा आउने भएपछि पुनः अपलोड गरेको बताए । उनले भने, “पुरानो भिडिओलाई युट्युबले खासै धेरै विज्ञापन नदिने रहेछ । कमर्सियल हिसाबले आठ मिनेटभन्दा कम समयको भिडिओको रेभेन्यु पनि कम हुने भएकाले रिअपलोड गर्यौँ । तर रिअपलोड कन्टेन्ट भएकाले कमर्सियल हिसाबले फाइदा कमै हुने रहेछ ।”
टिकटक प्रयोगकर्ता सबु धामीका कारण गीतले निकै चर्चा पाएको भन्दै सीईओ कठायतले उनका लागि विशेष पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।
उनले भने, “टिकटकमा उनकै भिडिओमा आठ नौ लाख भ्युज आएको छ । उहाँ बहिनीले देउसी-भैलो खेल्ने बेलामा भिडिओ राखेको कारण नै यो सब भएको हो । हाम्रो टिमले उहाँसँग सम्पर्क गरिरहेको छ ।” झुम्की गीतकै दोस्रो भाग ल्याउने बारेमा पनि सोचिरहेको र त्यसबारे चाँडै घोषणा गर्ने उनले सुनाए ।

0 Comments