चिनियाँ नागरिक हाइताओको बयान- हेनानको त्यो सानो गाउँ, मेरी ६० वर्षकी दिदी, मेरी बिरामी श्रीमती अनि मेरो बच्चा... उनीहरूको अनुहार आँखाअगाडि घुमिरहन्थ्यो...
.......... .......... .......... .......... ..........
"त्यो दिन भदौ १० गते थियो। भोटेकोशी नदीमा अत्तालिँदै उर्लिएको बाढी जब हाम्रो जलविद्युत् आयोजनाको सुरुङभित्र पस्न थाल्यो, चारैतिर रुवाबासी र भागदौड मच्चियो। एकैछिनमा विनाशको त्यो धमिलो धमिलो धमिलो पानीले सबै कुरा निल्न थाल्यो। मसँग भाग्ने कुनै बाटो थिएन। केवल जीवन जोगाउनु थियो।
.......... .......... .......... .......... ..........
मैले सुरुङको सबैभन्दा अग्लो भागतिर ज्यान फालेर चढ्न थालेँ। पानीको सुसाइ र ओछ्यानजस्तै अँध्यारो। केही मिनेटअघिसम्म हाम्रै सहकर्मीहरूको चिच्याहट गुञ्जिरहेको त्यो ठाउँ क्षणभरमै मसानघाटजस्तै शान्त र डरलाग्दो बन्यो।
त्यसपछिका १० दिन... सायद म मेरो जीवनभर बिर्सन सक्दिनँ।
.......... .......... .......... .......... ..........
अन्धकार बाहेक त्यहाँ केही थिएन। न खानेकुरा, न त एक घुट्को सफा पानी। ओसिलो चिसोले जिउ थरथर काप्थ्यो। हरेक पल लाग्थ्यो- अब मेरो सास यहीँ छुट्छ। तर, मनको कुनामा सानो आशाको बत्ती बलिरहन्थ्यो। हेनानको त्यो सानो गाउँ, मेरी ६० वर्षकी दिदी, मेरी बिरामी श्रीमती अनि मेरो बच्चा... उनीहरूको अनुहार आँखाअगाडि घुमिरहन्थ्यो। 'म यहाँ मर्न आएको होइन, मैले त उनीहरूका लागि जिउनुछ' भन्दै म आफ्नै मनलाई सम्झाउँथेँ।
.......... .......... .......... .......... ..........
भोक र प्यासले शरीर शिथिल भइसकेको थियो। समयको पत्तो थिएन— दिन भयो कि रात, मलाई केही थाहा भएन। म केवल सास फेरिरहेको थिएँ र कान ठाडो पारेर कुनै आवाज आउँछ कि भनेर पर्खिरहेको थिएँ।
.......... .......... .......... .......... ..........
१० औँ दिनतिर होला, टाढाबाट एउटा झिनो उज्यालो चम्कियो। सुरुमा त मलाई लाग्यो— यो मेरो भ्रम हो। भोक र थकानले आँखाले छलकाएको हो कि? तर त्यो उज्यालो बिस्तारै नजिकिँदै थियो।
.......... .......... .......... .......... ..........
मेरो शरीरमा कति शक्ति बाँकी थियो, मलाई थाहा छैन, तर मैले आफ्नो सम्पूर्ण तागत लगाएर घाँटी सुक्ने गरी चिच्याएँ- "गुहार! गुहार!"
.......... .......... .......... .......... ..........
सुरुमा मेरो आवाज त्यो विशाल सुरुङको अँध्यारोमै बिलायो। तर उनीहरू अझ नजिक आए। टर्चको त्यो उज्यालो सिधै मेरो आँखामा पर्यो। म अझ जोडले चिच्याएँ।
.......... .......... .......... .......... ..........
उद्दार टोलीका मान्छेहरू दौडिँदै मभन्दा नजिक आए। नेपाली सेना र दक्षिण कोरियाली विशेषज्ञहरूको टोली रहेछ। जब उनीहरूले मलाई समातेर सहारा दिए, लाग्यो- म पुनर्जन्म पाइरहेछु।.......... .......... .......... .......... ..........
बाहिर निस्कनेबित्तिकै मेरो ओठबाट एउटै शब्द निस्कियो- "पानी!"
उनीहरूले मलाई पानीको घुट्को दिए र मायालु स्वरमा सोधे- "नेपाली हो?"
म केही बुझ्न सक्ने अवस्थामा थिइनँ। मेरो अलमल देखेर फेरि सोधे- "चाइनिज?"
मैले गह्रौँ टाउको हल्लाउँदै बिस्तारै भनेँ- "चाइनिज।"
.......... .......... .......... .......... ..........
त्यसपछि सेनाको हेलिकप्टरको आवाज र काठमाडौँको सैनिक अस्पतालको यो ओछ्यान... सबै कुरा कुनै सपनाजस्तै लागिरहेछ।
.......... .......... .......... .......... ..........
घरमा गरिबी थियो। गहुँ र मकैको खेतीले वर्षमा केही सय युआन मात्र हुन्थ्यो। सिकर्मी काम गरेर श्रीमतीको उपचार र घर चलाउन धौ-धौ भएपछि गत फेब्रुअरीमा चिनियाँ नयाँ वर्षसमेत नमनाई म नेपाल आएको थिएँ। दिदी र श्रीमतीलाई राम्रोसँग सम्झाउन पनि पाएको थिइनँ।
.......... .......... .......... .......... ..........
अहिले सुन्छु— चीनमा मेरी दिदीले वीच्याटमा मेरो दुब्लाएको र फुलेको कपाल भएको तस्बिर देखेर "मेरो भाइ भेटियो" भन्दै रोएको खबर। बेइजिङबाट आधिकारिक फोन जाँदा सिङ्गो परिवारमा खुसीको आँसु बगेको कुरा सुन्दा मेरो पनि छाती भरिएर आउँछ।
.......... .......... .......... .......... ..........
भोटेकोशीको त्यो बाढीले ९०० भन्दा बढी साथीहरूलाई बगायो, कयौँ अझै बेपत्ता छन्। उनीहरूको सम्झनाले मन अमिलो हुन्छ। तर, मृत्युको मुखैबाट उम्किएर मैले जुन नयाँ जीवन पाएको छु, यो नेपाली सेना, उद्धार टोली र मेरो आफ्नै जिउने अदम्य इच्छाशक्तिको चमत्कार हो।
.......... .......... .......... .......... ..........
सुरुङको त्यो १० दिनको अन्धकारले मलाई सिकायो- जिन्दगी जतिसुकै कठिन भए पनि, आशाको उज्यालो कहिल्यै मर्न दिनु हुँदैन।"

0 Comments