Header Ads Widget

कोरियन भाषा परीक्षाका लागि साउन ११ गतेदेखि आवेदन खुल्ने, यसरी भर्नुहोस् अनलाइन फारम

 

दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले सूचना जारी गर्दै आगामी २७ जुलाईदेखि २ अगस्ट (११ देखि १७ साउन) सम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ । 

कोरिया र नेपाल सरकारबिच भएको सम्झौता अनुरुप कोरियामा कामदारका रूपमा जाने नेपाली छनोट गर्न कोरियन भाषा परीक्षा (ईपीएस टोपिक) सञ्चालन हुँदै आएको छ । सूचनाअनुसार इच्छुक नेपालीले eoers.epsnepal.gov.np  मा गएर आवेदन दिनुपर्नेछ । उक्त वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो भिडियो पहिलो पेजमै राखिएको इपीएस शाखाले जनाएको छ । 

आवेदन दिँदा तोकिएको मापदण्डअनुसारको फोटो, ईमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ । भाषा परीक्षाका लागि २८ अमेरिकी डलर लाग्नेछ भने आवेदन फारम बुझाउने मितिमा कायम विनिमय दर अनुसार अनलाइनबाटै भुक्तानी गर्नुपर्नेछ ।

आवेदन सङ्कलन प्रक्रिया सम्पन्न भएपछि परीक्षाको मिति र तालिका सार्वजनिक हुनेछ । यसपटक कुल ७ हजार २ सय कोटाका लागि कोरियन भाषा परीक्षा लिइने भएको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार र सेवा र वन क्षेत्रमा १००/१०० जना माग गरिएको छ । 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रुपमा बसोबास गरी फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेकाले भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments