Hot Posts

रु २० लाखसम्म बिनाधितो उद्यम कर्जा : कसले र कसरी पाउन सकिन्छ यस्तो छ नियम

 रु २० लाखसम्म बिनाधितो उद्यम कर्जा : कसले र कसरी पाउन सकिन्छ यस्तो छ नियम 

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत्‌ यसै साता आह्वान गरेको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार चयन हुने उद्यमीहरूले पाँच वर्षका लागि तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने छन्। सूचना प्रकाशित भएको मितिले २१ दिनको म्याद दिएको छ।

केके गर्न कर्जा पाइन्छ

प्रतिष्ठानका अनुसार यी पाँच क्षेत्रअन्तर्गका विभिन्न १९ वटा उद्यमका लागि कर्जा पाउन सकिने छः

  • कृषि वन तथा उत्पादनमूलक क्षेत्र
  • सूचना प्रविधि तथा डिजिटल क्षेत्र
  • पूर्वाधार तथा यातायात क्षेत्र
  • सामाजिक सेवा र पर्यटन क्षेत्र
  • परम्परागत तथा स्थानीय स्रोत

पाउने योग्यता के हो

कार्यकारी निर्देशक गुप्ताका अनुसार उद्यम कर्जा पाउनका निम्ति केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ।

  • प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्छ

"पालिकास्तरमा वडा कार्यालयमा, जिल्लास्तरमा लघु, घरेलु तथा साना उद्योगमा, प्रदेशस्तरमा प्रदेश निर्देशनालयमा र सङ्घीयस्तरमा उद्योग विभागमा दर्ता हुन्छ," गुप्ताले बीबीसी न्यूज नेपालीसँग भने।

"सेवा अथवा उत्पादन उद्यमका रूपमा दर्ता भएकोले यो सुविधा पाउन सक्छन्।"

  • उद्यम व्यवसाय दर्ता भएको मितिले १० वर्ष ननाघेको हुनुपर्छ
  • दर्ता भएपछि कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनुपर्छ
  • वस्तु वा सेवा उत्पादनमा नवीन एवं सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायका रूपमा रूपान्तरणमार्फत्‌ उच्च वृद्धिको सम्भावना भएको हुनुपर्छ

स्टार्टअप उद्यममा के पर्दैन

केही उद्यमलाई चाहिँ स्टार्टअप उद्यम नमानिने कार्यविधिमा उल्लेख गरिएको छ।

  • प्रचलित कानुनबमोजिम उद्योगका रूपमा दर्ता नभएको
  • वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्रीवितरण गर्ने गरेको
  • कालोसूचीमा परेको उद्योग व्यवसाय
  • सूचना प्रकाशित भएको मितिभन्दा पछि दर्ता भएको
  • औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीका रूपमा दर्ता भएको उद्यम

माथि उल्लिखित उद्योग र व्यवसायलाई स्टार्टअप मानिँदैन।

आवश्यक कागजपत्र

बिनाधितो ऋण लिनका लागि तल उल्लिखित काजपत्र चाहिन्छ -

  • उद्योगको दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि
  • स्थायी लेखा नम्बर र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
  • फर्म, कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट सहुलियतपूर्ण कर्जा तथा स्टार्टअप उद्यम कर्जा वा सोही प्रकृतिको अन्य सहुलियतपूर्ण कर्जा नलिएको स्वघोषणा

"सँगसँगै आफूले गरेको उद्यममा के नवीतम सोच छ अथवा के ज्ञान वा सीप लगाएर काम गरिन्छ भन्नेबारे स्वतःस्फूर्तमा लेखेर पठाउने व्यवस्था हामीले गरेका छौँ," भने।

एक उद्यमी वा एकाघरका सदस्यले एकभन्दा बढी प्रस्ताव पेस गर्न नपाउने स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) मा व्यवस्था छ।

स्रोत : BBC News Nepali

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments