Header Ads Widget

कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: वास्तविकता यस्तो छ

 

धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।

कुटपिट गरी घरबाट निकाला गरेको र खानलाउन नदिएको दाबी गर्दै दिलमायाले दायर गरेको मुद्दामा सुनसरी जिल्ला अदालतले पाँच अंशियार कायम गरी सम्पत्ति बाँडफाँट गर्नुपर्ने ठहर गरेको हो। उपलब्ध अदालतको कागजातमा हर्क साम्पाङको नाम हर्कराज राई उल्लेख छ।

अदालतले वादी र प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी दिलमायालाई हर्कराजको हिस्साबाट अंश दिनुपर्ने फैसला गरेको छ।

विवाहपछि कुटपिट र घरनिकाला गरेको दिलमायाको आरोप
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेमविवाह भएको उल्लेख गरेकी छन्। उनीहरूबाट एलिसा राई नामकी छोरी जन्मिएकी थिइन्। फिरादपत्र दायर गर्दा छोरीको उमेर १७ वर्ष रहेको उल्लेख छ।

दिलमायाले विवाहपछि पतिसँग निरन्तर झैझगडा हुने गरेको र आफू कुटपिटमा परेको आरोप लगाएकी छन्। हर्कराजले अन्य महिलासँग सम्बन्ध राखेको आरोपसमेत उनले फिरादपत्रमा लगाएकी छन्।

यस विषयमा पटकपटक इलाका प्रहरी कार्यालयमा उजुरी दिए पनि छोरीको भविष्यलाई ध्यानमा राखेर मिलेर बसेको उनको भनाइ छ। विदेशबाट फर्किएपछि पनि पतिले अन्य महिलासँगको सम्बन्ध कायम राखेको र आफूलाई पुनः कुटपिट गरेको दिलमायाले दाबी गरेकी छन्।

फिरादपत्रमा उल्लेख भएअनुसार प्रहरीमा उजुरी गरेपछि हर्कराजले खानलाउन नदिने र घरमा बस्न नदिने भन्दै कुटपिट गरी घरबाट निकाला गरेका थिए। आफूहरूबीच कानुनबमोजिम अंशबण्डा नभएको र अंश लाग्ने सम्पत्ति विपक्षीहरूको नाममा रहेको भन्दै दिलमायाले अदालतमा अंशचलन मुद्दा दायर गरेकी थिइन्।

चार अंशियारको माग, अदालतबाट पाँच कायम
दिलमायाले विपक्षीहरूको सम्पत्ति चार भागमा बाँडेर पतिको भागमा पर्ने एक हिस्सालाई आफू, पति र छोरीबीच पुनः तीन भाग लगाउन माग गरेकी थिइन्। तर अदालतले नाता, पुस्तावली र पेस भएका प्रमाण अध्ययन गर्दा पाँच अंशियार कायम हुने ठहर गरेको छ।
फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको छ
।

उनीहरूबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको अदालतले जनाएको छ। प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारी अध्ययन गर्दा उनीहरूका नाममा रहेका सम्पत्तिमा समेत अंशियारहरूको हक लाग्ने अदालतले ठहर गरेको छ।

निजी आर्जनको दाबी पुष्टि गर्ने प्रमाण भेटिएन
मुद्दामा आशय कुमार राईको नाममा रहेका कित्ता नम्बर ३९५, ९२५ र ९२९ का जग्गा निजी आर्जनबाट खरिद गरिएको दाबी गरिएको थियो। बेलायती सेनामा कार्यरत रहँदा कमाएको रकमबाट ती सम्पत्ति खरिद गरिएको भन्दै अंशबण्डाबाट अलग राख्न माग गरिएको थियो।
तर बेलायती सेनाबाट कमाएको रकम नेपाल ल्याएर ती सम्पत्ति खरिद गरेको पुष्टि हुने पर्याप्त प्रमाण पेस नभएको अदालतले उल्लेख गरेको छ। त्यसैले ती सम्पत्तिलाई अंशबण्डाबाट अलग राख्ने आधार नभएको अदालतको ठहर छ।

दिलमायाको दाबी खण्डन गर्ने प्रमाण पेस नभएको अदालतको ठहर
अदालतले दिलमायाले लगाएको घरनिकाला र खानलाउन नदिएको आरोपबारे पनि विचार गरेको छ। दिलमायालाई पतिले खानलाउन दिएको भए उनले पतिसमेतलाई विपक्षी बनाएर अंश मुद्दा दायर गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा हर्कराजले अन्यथा पुष्टि गर्न नसकेको फैसलामा उल्लेख छ।

अदालतले मुद्दासँग सम्बन्धित विभिन्न व्यक्तिका बयान तथा अन्य प्रमाणसमेत अध्ययन गरी अंशियारको संख्या निर्धारण गरेको हो।

दिलमायाले कुल अंश लाग्ने सम्पत्तिको १५ भागमध्ये एक भाग पाउने
अदालतले पाँच अंशियार कायम गरी अंश लाग्ने सम्पत्तिलाई पाँच भागमा विभाजन गर्ने आधार तय गरेको छ। त्यसअनुसार हर्कराजको भागमा पर्ने एक हिस्सालाई पुनः हर्कराज, दिलमाया र छोरी एलिसाबीच तीन भागमा बाँड्नुपर्ने फैसला भएको छ। यस हिसाबले कुल अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १५ भागमध्ये एक भाग अर्थात् १/१५ हुने देखिन्छ।

अदालतले दर्ता स्रेस्तामा कायम अंश लाग्ने सम्पत्तिलाई पाँच भाग लगाई हर्कराजको हिस्साबाट दिलमायाको अंश छुट्याउनुपर्ने ठहर गरेको छ। यस फैसलाले दिलमायाले दायर गरेको अंशचलन मुद्दामा उनको अंश अधिकार कायम गरेको छ।

र्क साम्पाङको हिस्साबाट दिलमायालाई अंश 

अदालतले पाँच अंशियार कायम गर्दै सम्पत्ति पाँच भाग लगाउने आधार लिएको छ । त्यसपछि हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने ठहर गरेको छ।

यस हिसाबले समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १र१५ हुने देखिन्छ । अर्थात् पाँच अंशियारमध्ये हर्कराजको हिस्सा १÷५ कायम भएपछि हर्कराजको सो हिस्सालाई हर्कराज, दिलमाया र एलिसाबीच तीन भाग लगाउँदा दिलमायाको हिस्सा १÷१५ हुन्छ ।

अदालतले दर्ता स्रेस्तामा कायम सम्पत्तिलाई पाँच भाग लगाई सोहीअनुसार अंश छुट्याउन र हर्क साम्पाङको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने ठहर गरेको छ।


यस्ताे छ अदालतकाे फैसला ः 



Post a Comment

0 Comments