राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वर्षौँ पुरानो लेनदेन विवादलाई लिएर प्रहरी गुहारेकी छन् । हाल अमेरिकामा बस्दै आएकी कुस्मा बुढाथोकीले आफ्नो श्रीमानसँग १ करोड ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै उनले आवश्यक कारबाहीका लागि प्रहरीसँग मद्दत मागेकी हुन् ।
यो प्रकरण निकै गहिरो र भावुक पनि छ । आशिका सन् २०१० जर्मनी जाँदा कुस्मासँग उनको भेट भएको थियो । कुस्मा चाइल्ड केयर भिसामा जर्मनी पुगेकी थिइन् । आशिकाका अनुसार उनका श्रीमान् थोमससँग त्यसबेला कुस्माको अफेयर चलिरहेको थियो । थोमसले निस्वार्थ प्रेम गरे पनि कुस्माले भने विवाहको आश्वासन दिएर थोमसलाई प्रयोग मात्र गरेको आशिकाले नेपाल प्रेसलाई दिएको पुरानो अन्तरवार्तामा बताएकी छन् ।
‘कुस्मामार्फत नै मेरो थोमससँग चिनजान भएको हो । त्यसबेला उनीहरू प्रेममा थिए । तर कुस्माको प्रेम झूटो रहेछ । त्यो बुझेपछि ममा थोमसप्रति सहानुभूति पलायो,’ उनले भनेकी छन् ।
आशिकाका अनुसार कुस्माले नेपालमा गएर एमबीबीएस पढ्ने भनेर थोमससँग पैसा मागेकी थिइन् । सोझा तर आर्थिकरुपमा सम्पन्न थोमसले उनले भने जति पैसा दिए । दुई पटक गरी थोमसले कुस्मालाई १ करोड ३५ लाख पठाएको आशिकाको भनाइ छ ।
‘नेपालमा कुस्माको अर्कै केटा साथी रहेछ । त्यही केटा साथीको खातामा थोमसलाई पहिलो पटक २८ हजार र दोस्रो पटक १ लाख युरो उनले नेपाल पठाउन लगाएकी थिइन् । त्यही पैसाले नेपालमा फिल्म बनाएर डुबाइन्,’ आशिका भन्छिन् ।
२०७० सालमा ‘एटीएम’ नामको ‘भल्गर’ चलचित्र निर्माण भएको थियो । कुस्माले थोमसबाट लिएको पैसा यही चलचित्रमा लगानी गरेको आशिकाको दाबी छ । पैसा पाएपछि कुस्मा थोमससित टाढिएको उनले बताइन् ।
‘कुस्माले थोमसलाई धोका दिएपछि मैले उहाँलाई सहारा दिएकी हुँ । थोमसले पनि मलाई जर्मनीमा धेरै सहयोग गरिरहनुभएको थियो । त्यसैले उमेरले धेरै अन्तर भए पनि मैले थोमससँग विवाह गर्ने निर्णय लिएँ,’ आशिका भन्छिन् ।
थोमसले कुस्मालाई दिएको पैसाको लगभग माया मारिसकेको आशिका बताउँछिन् । तर, थोमसलाई जस्तै नेपालमा अरूलाई पनि प्रेमको नाटक गरी ठगेको भेटेपछि आफू अहिले एक्सन लिन बाध्य भएको उनको भनाइ छ ।
‘हामीले यो रकमको ताकेता गर्न छाडिसकेका थियौँ । तर हालै मात्र झापाको जीवन बास्कोटा मेरो सम्पर्कमा आउनुभयो । उहाँले आफूलाई पनि कुस्माले लामो समय ‘लिभ इन’ मा बसेर धोका दिएको र करोडौँ रकम लगेको सुनाउनुभयो । त्यसपछि हामीले सल्लाह गरेर नै प्रहरी गुहारेका हौँ,’ उनले भनिन् ।
आफू सामाजिक सञ्जालमा चर्चित भइसकेपछि कुस्माले डराएर पछाडि मितिको चेक दिन बाध्य भएको उनले बताइन् । कानून बमोजिम चेक बाउन्स गराएको ४५ दिनपछि मात्रै मुद्दा लाग्ने प्रहरीले बताएको छ । ४५ दिन नपुगेकाले अहिले उजुरी दर्ता भएको छैन ।
अब जीवन बास्कोटाको कथा…
झापाका बास्कोटा काठमाडौंमा एउटा इन्स्योरेन्स कम्पनीमा काम गर्छन् । उनी कुस्मासँग प्रेममा परे । प्रेम गहिरिएपछि उनीहरू ६-७ वर्ष ‘लिभ इन’ मा बसे । तर अन्ततः जीवनको पनि उही हाल भयो । आफूसँग लिभ इनमा रहँदा रहँदै अर्कैसित विवाह गरेर कुस्मा अमेरिका पुगेको जीवन बताउँछन् ।
जीवन पनि अहिले एक करोड ८५ लाखको बाउन्स चेक लिएर घुमिरहेका छन् । कुस्माले अढाई करोड रुपैयाँभन्दा बढी आफूबाट लिएर अन्तमा धोका दिएको उनको गुनासो छ । उनले कुस्मासँगको सम्बन्ध र बाउन्स चेकको विषयमा लामो कथा सुनाए । जीवनले सुनाएको कथाको सारसंक्षेप यस्तो छ:
‘म वास्तवमा पीडित पक्ष हुँ, तर केही मिडियाले उल्टो कथा बनाएका छन् । हाम्रो झण्डै ६-७ वर्षदेखि सम्बन्ध थियो र हामी ‘लिभिङ टुगेदर’ मा बसेका थियौँ ।
उनले बाहिर (जर्मनी) बसेर आएपछि मलाई सेयर मार्केटमा लगानी गर्ने र उनको प्रोपर्टीका ऋणहरू तिर्ने बहानामा ठूलो रकम मागिन् । मैले आफ्नो प्रोपर्टी (सम्पत्ति) बेचेर, ऋणधन गरेर उनलाई पैसा दिएको थिएँ । अहिले पनि मेरो नाममा करोडौँ ऋण छ । आफ्नै जीवनसाथी ठानेर मैले सकेको सहयोग गरेँ । हाम्रो औपचारिक विवाह चाहिँ भएको थिएन ।
पछि उनले फेरि अमेरिका जाने रहर गरिन् । अमेरिका जान भनेर पनि मसित लाखौँ रुपैयाँ लिइन् । तर अमेरिका गएर ग्रीन कार्ड पाएपछि उनले सबैतिर मलाई ब्लक गरिन् ।
पछि बुझ्दै जाँदा उनले अमेरिकाको ग्रीन कार्ड होल्डरसँग विवाह गरेर गएकी रहिछन् । आफूले ग्रीन कार्ड पाएपछि उनले त्यस श्रीमानलाई पनि डिभोर्स दिइन् र फेरि नेपाल आएर आफ्नो अर्को प्रेमीसँग बिहे गरिन् । उनको नयाँ श्रीमान् एउटा ट्राभल एजेन्सीमा काम गर्छ । पहिले कुस्मा र उनको आमालाई मैले नै त्यसको ट्राभलबाट तीर्थयात्रामा पठाएको थिएँ, त्यहीबेला उनीहरूको चिनजान भएको रहेछ ।
धोका पाएपछि मैले पटक-पटक कुस्मा र उनको परिवारसँग आफ्नो पैसा फिर्ता मागेँ । तर उल्टै मेरो घरमा प्रहरी छ, वकिल छ, तँ ब्ल्याकमेल गर्ने फटाहा होस् भनेर मलाई थर्काइयो । मसँग २०८० साल फागुनतिर उनले काटेर दिएको १ करोड ८५ लाख रुपैयाँको चेक छ । उनीहरूले केही रेस्पोन्स नगरेपछि मैले त्यो चेक बाउन्स गराएँ ।
चेक बाउन्स भएपछि उनीहरूले प्रहरीमा गएर उल्टै मैले चेक चोरेको भनेर उजुरी हाल्ने प्रयास गरेका छन् । मसँग उनलाई पैसा दिएको सबै प्रमाण सुरक्षित छ । मैले झण्डै २ करोड ९२ लाख जति उनलाई दिएको छु ।
आशिका तामाङजीको श्रीमानलाई पनि उनले यसरी नै ठगेको मिडियाबाट थाहा पाएँ । आशिकाजीसँग पनि मेरो कुरा भएको छ । उहाँलाई पनि चेक दिएको रहेछ र त्यो पनि बाउन्स भएको छ ।
अहिले उनीहरूले ममाथि ‘बुबाको इन्स्योरेन्स (बीमा) गराइदिन्छु भनेर करोडौँ खायो’ भन्ने अर्को झुटो आरोप लगाएका छन्। म इन्स्योरेन्स कम्पनीमा काम गर्ने भएकोले बुबाको इन्स्योरेन्स गर्ने कुरा भएको थियो, तर उनीहरूले सेयर बजारमा लगानी गर्छौँ भनेर बीमा गरेनन् । अहिले उल्टै मलाई बदनाम गराउन मिडियामा गलत समाचार फैलाइरहेका छन् ।
प्रहरीले छलफलका लागि बोलाउँदा उनको परिवारका सदस्यले तथानाम मुख छाडे । मैले आफ्नो कुरा भद्र तरिकाले राखेको छु । प्रहरीले न्याय गर्छ भन्ने आशा छ ।

0 Comments