Hot Posts

वृद्धसँग कुकुर जिस्किएको भिडिओ टिकटकमा भाइरल बनेपछि प्रहरीलाई तनाव, कुकुर धनी पक्राउ

 

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा एक वृद्ध व्यक्तिमाथि कुकुर जाइलागेको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा हस्की जातको कुकुरले सटरमा अडेस लागेर बसेका एक वृद्ध व्यक्तिमाथि जाइलागेको र टोक्न खोजेको जस्तो देखिन्छ ।

भिडिओ सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कुकुर धनी र भिडिओ खिच्ने व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने भन्दै दबाब सिर्जना गरेका थिए । घटनाप्रति सर्वत्र आलोचना हुन थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

नुसन्धानका क्रममा उक्त भिडिओ पर्वतको कुस्मा बजारस्थित एक रेस्टुरेन्टमा खिचिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार भिडिओमा देखिएका वृद्ध व्यक्ति शारीरिक रूपमा फरक क्षमताका हुन् ।

“ती वृद्ध व्यक्ति सो रेस्टुरेन्टमा नियमित रूपमा आउने र सञ्चालिकालाई ‘आमा’ सम्बोधन गरी खाजा-खाना खाने गर्नुहुन्थ्यो,” प्रहरी निरीक्षक पटेलले भने, “उक्त कुकुर र वृद्ध व्यक्तिबिच लामो समयदेखि परिचय थियो । उनीहरू सधैँ यसरी नै खेल्ने, जिस्किने र ठट्टा गर्ने गरेका रहेछन् ।”

प्रहरीका अनुसार भिडिओमा देखिएको दृश्य आक्रमण नभई उनीहरूबिचको सामान्य खेल मात्र थियो । उक्त भिडिओ रेस्टुरेन्ट सञ्चालिका आफैँले खिचेर टिकटकमा राखेकी थिइन् ।

प्रहरी निरीक्षक पटेलले सामाजिक सञ्जालमा भिडिओको गलत व्याख्या भएको बताएका छन् । “रेस्टुरेन्ट सञ्चालकले खिचेर राखेको भिडिओ अन्य व्यक्तिले समेत सामाजिक सञ्जाल टिकटक राख्दा नकारात्मक टिप्पणी सहित चर्चामा आएको बुझिन आयो,” उनले भने ।

घटनाको वास्तविकता बुझ्न प्रहरीले पीडित भनिएका वृद्ध, कुकुर धनी, रेस्टुरेन्ट सञ्चालक र केही स्थानीयलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ समेत गरेको थियो । अनुसन्धानबाट यो कुनै आपराधिक वा आक्रमणको घटना नभई वृद्ध र कुकुरबिचको आत्मीयता र खेलको अंश मात्र भएको प्रहरीले जनाएको छ ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments