Header Ads Widget

१०० रुपैयाँ भन्दा माथिको सामान किनेर बिल लिँदा हरेक १५ दिनमा २५ लाख जित्ने अवसरमा यसरी सहभागी हुनुहोस्।

 


आन्तरिक राजस्व विभागले नगद भुक्तानी गरी सामान खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गर्दै 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' मा सहभागी हुनका लागि आधिकारिक पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले prize.ird.gov.np पोर्टल सार्वजनिक गर्दै नगदमा कारोबार गर्ने उपभोक्ताहरूलाई आफ्ना खरिद बीजक (बिल) हरू प्रणालीमा प्रविष्ट गर्न आह्वान गरेको हो ।


बजारमा वस्तु तथा सेवा खरिद गर्दा बिल लिने-दिने संस्कृतिको विकास गर्न र व्यापारिक कारोबारलाई पारदर्शी बनाउन विभागले यो डिजिटल प्लेटफर्म तयार पारेको हो । यस पोर्टलको प्रयोग गरी उपभोक्ताले आफूले सामान किन्दा तिरेको बिलका आधारमा उपहार कार्यक्रममा आफ्नो दाबी सुरक्षित गर्न सक्नेछन् ।


विभागका अनुसार स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी नगद भुक्तानी गर्ने उपभोक्ताहरू यसका लागि योग्य हुनेछन् । सहभागी हुन चाहनेले १ साउन २०८३ पछिका आफ्ना खरिद बीजकको विवरण विभागको पोर्टलमा गई तोकिएको समयभित्रै दर्ता गराउनुपर्नेछ । नगद कारोबारको हकमा प्रणालीमा विवरण नभर्ने उपभोक्ताहरू उपहार कार्यक्रममा समावेश हुन पाउने छैनन् ।


नगद भुक्तानी गर्नेले अनिवार्य रूपमा पोर्टलमा विवरण भर्नुपर्ने भए तापनि डिजिटल माध्यमबाट भुक्तानी गर्नेहरूका लागि भने विभागले विशेष व्यवस्था गरेको छ । भुक्तानी सेवा प्रदायक (मोबाइल बैंकिङ, क्यूआर कोड, कार्ड आदि) मार्फत विद्युतीय भुक्तानी गरी १ साउनपछि खरिद गरिएका बिलहरूको विवरण प्रणालीमा स्वतः समावेश हुनेछ । यस्ता उपभोक्ताहरूले पोर्टलमा गइ छुट्टै विवरण प्रविष्ट गरिरहनु पर्ने छैन ।


वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन उत्प्रेरित गर्ने र वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने विभागको मुख्य उद्देश्य रहेको छ । यो कार्यक्रमले कर अनुपालनमा वृद्धि गर्ने र उपभोक्तालाई राज्यको कर प्रणालीमा प्रत्यक्ष रूपमा जोड्न मद्दत पुग्ने सरकारको विश्वास छ ।


आन्तरिक राजस्व विभागले सम्पूर्ण उपभोक्ताहरूलाई आफूले सामान किन्दा अनिवार्य बिल लिन र नगद भुक्तानीको हकमा विभागले ल्याएको नयाँ पोर्टलमा समयमै विवरण दर्ता गरी उपहार कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments