Header Ads Widget

आशिका तामाङले संसदमा उठाइरहेको मुद्दा संवेदनशील तर समाधानमा जटिल छ....

 

सांसद आशिका तामाङ आज सभामुख डिपी अर्यालसँग रिसाउँदै संसद बैठक छोडेर बाहिरिइन् ।

परराष्ट्रमन्त्रीलाई प्रश्न गर्न सभामुखले अनुमति नदिएपछि र मर्यादित हुन निर्देशन दिएपछि उनी आक्रोशित बनेर हिँडेकी थिइन् । यद्यपि, केहीबेरपछि फर्किइन् ।

हिजोको संसद बैठकमा पनि आशिका र सभामुख डिपी अर्यालबीच नोकझोक चलेको थियो । आशिकाले आफ्नो मुद्दो सम्बोधन नभएसम्म सदनमा उभिएर विरोध गरिरहने चेतावनी दिएकी थिइन् । सत्तारुढ पार्टीकै सभामुखले यस्तो चेतावनी दिएपछि सभामुखले तीन दिनभित्र परराष्ट्रमन्त्रीलाई जवाफ दिन रुलिङ गरे ।

सभामुखको रुलिङ अनुसार आज परराष्ट्रमन्त्री शिशिर खनालले विस्तृतमा जवाफ पनि दिए । तर जवाफमा आशिका सन्तुष्ट भइनन् । परराष्ट्रमन्त्री बोलिनसक्दै आसनबाट उठिन् ।

परराष्ट्रमन्त्रीलाई पुरक प्रश्न राख्न पाउनुपर्ने उनको माग थियो । तर सभामुखले उनलाई बोल्न अनुमति दिएनन् । बरु सदनमा मर्यादित व्यवहार गर्न निर्देशन दिए । त्यसपछि आशिका झोक्किँदै आफ्नो ब्याग टिपेर सदनबाट बाहिरिइन् ।

विषय संवेदनशील, समाधान कठिन

आशिकाले सदनमा उठाएको विषय हो कम्बोडियामा निधन भएका आफ्नो निर्वाचन क्षेत्रका एक नागरिकको शव नेपाल ल्याउनुपर्ने ।

धादिङ धुनिवेशी–९ निवासी सन्तोष राईको हृदयघातपछि उपचार सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा १४ मे २०२६ मा मृत्यु भएको थियो । उनको शव नोमपेनस्थित खमेर सोभियत फ्रेन्डसिप अस्पतालमा रहेको छ ।

राईको शव नेपाल ल्याउनका लागि आशिका निकै दौडधुप गरिरहेकी छन् । तर, ३७ दिनसम्म पनि सफलता नमिल्दा उनी आक्रोशित बनेकी हुन् ।

सरकारले विदेशमा रहेका नेपालीहरुको उद्दारका लागि भने यसपालीको बजेटमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर यो बजेट खर्च गर्नका लागि कार्यविधि बनिसकेको छैन । परराष्ट्र मन्त्रालयले कार्यविधि तयार गरेर अर्थमा पठाएको जानकारी परराष्ट्रमन्त्रीले आज सदनलाई गराएका थिए । तर, यो कार्यविधि कार्यान्वनयमा आएपछि पनि सन्तोष राईको शव नेपाल आइहाल्छ भन्ने अवस्था छैन ।

मानवीय विषय भए पनि यसमा परराष्ट्रमन्त्रीले विभिन्न जटिलता औंल्याएका छन् । सन्तोषको हकमा महत्वपूर्ण विषय भनेको उनी अवैधरुपमा कम्बोडिया जानु हो । कम्बोडियासँग नेपालको श्रम स्वीकृति छैन । केही महिनायता मात्रै अवैधरुपमा कम्बोडिया गएका ८६० जनालाई नेपाल फर्काइएको परराष्ट्रमन्त्री खनालले बताए ।

अवैधरुपमा विदेश गएका नेपालीको शव नेपाल ल्याउने काम व्यवहारिकरुपमा जटिल र खर्चिलो समेत हुन्छ । वैधरुपमा जानेहरुको हकमा बीमाले सबै कभर गर्छ । तर अवैधरुपमा जानेहरुको शव फिर्ता ल्याउन चाहेमा परिवारले नै सबै खर्च व्यहोर्नु पर्छ ।

परराष्ट्रमन्त्री खनालका अनुसार राईको शव नेपाल ल्याउनका निम्ति ८ हजार डलर लाग्ने देखिएको छ । यो भनेको उनको उपचारमा लागेको खर्च र अस्पतालमा शव राख्दाको शुल्क हो ।

सरकारले बजेटमा व्यवस्था गरेको १५ करोड रकमबाट खर्च गरेर राईको शव ल्याउनुपर्ने माग आशिकाले गरेकी छन् । तर अवैधरुपमा गएका नेपालीहरुको उद्दारमा राज्‍यकोषको पैसा खर्च गर्दा नैतिक प्रश्न खडा हुने परराष्ट्रमन्त्रीले बताए ।

उनले भने, ‘यो १५ करोड रुपैयाँ जनताले कर तिरेको पैसा हो । ठूलो रकम पनि होइन । कस्तो केसमा यो कोषको प्रयोग गर्ने र कस्तोमा नगर्ने भन्ने विषय एकदमै संवेदनशील छ । अवैधरुपमा गएका नेपालीहरुको उद्दार वा शव ल्याउने काममा करदाताहरुको पैसा खर्च गर्दा धेरै प्रश्नहरु उठ्न सक्छन् । यसले अवैधरुपमा जान प्रोत्साहन गरेको अर्थ लाग्छ । त्यसैले यो विषय बाहिर देखिएजस्तो सहज छैन ।’

खनालले परराष्ट्र मन्त्रालयले सीमित प्रावधानहरु राखेर कार्यविधि बनाएर अर्थमा पठाएको बताए । यो कार्यविधि कार्यान्वयनमा आएपछि सन्तोष तामाङको शव फर्काउन सकिन्छ वा सकिँदैन भन्ने उनले स्पष्ट पारेनन् ।

परराष्ट्रमन्त्रीका अनुसार कार्यविधिमा एउटा व्यक्ति वा घटनामा बढीमा १२ लाख रुपैयाँसम्म सरकारी कोषबाट खर्च गर्न सकिने व्यवस्था गरिएको छ । यो रकम खर्च गर्ने हो भने पनि सन्तोष राईका लागि अपूग हुने देखिन्छ ।

किनभने अहिले नै १२ लाखभन्दा बढीको विल उठिसकेको छ भने कार्यविधी स्वीकृत भएर शव ल्याउने बेलासम्म रकम बढ्दै जानेछ ।

यता सांसद तामाङ भने सरकारको ढिलासुस्तिले शुल्क थपिँदै गएको बताउँछिन् । कार्यविधि बनाएर स्वीकृत गर्न अत्यधिक समय लगाइएको उनको आरोप छ ।

नेपाल प्रेससँग कुरा गर्दै तामाङले भनिन्, ‘मान्छेको मृत्यू भएको ३८ दिन भइसक्यो । यदि तुरुन्तै ल्याउने पहल गरेको भए यति ठूलो खर्च लाग्ने थिएन । सरकारले गर्न सक्दैन भने बेलैमा भन्नुपर्थ्यो, म अरु माध्यमबाट स्रोत जुटाउन पहल गर्थेँ ।’

अवैधरुपमा गएको भए पनि एउटा नेपालीको जिम्मेवारी सरकारले उठाउनैपर्ने तामाङको राय छ ।

‘कि नेपाली होइन भन्नुपर्यो, होइन भने आफ्नौ देशको नागरिकको शव विदेशमा अलपत्र परिरहँदा सरकारले पन्छिन मिल्दैन । अवैधरुपमा जानेहरु रहरले नभएर वाध्यताले नै गएका हुन्,’ उनले भनिन् ।

आफूले संसदमा उठाएको आवाज बेलैमा सम्बोधन नभएकोमा उनी दुःखी छिन् । उनी भन्छिन्, ‘शून्य समयमा उठाएको आवाज शून्यमै बिलाएर जाँदो रहेछ ।’


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments