कलेज पढ्दापढ्दै सुरू गरेको ‘माटो क्राफ्ट्स’बाट वार्षिक ५० लाखभन्दा बढी कारोबार
चार वर्षअघि काठमाडौंकी शुभेच्छा सिंहले आफू उद्यमी बन्छु भन्ने सोचेकी पनि थिइनन्। स्नातक अध्ययनकै क्रममा सुरू गरेको ‘माटो क्राफ्ट्स’ लाई पढाइसँगै अघि बढाउन भने उनलाई निकै संघर्ष गर्नुपर्यो।
उनी पोलिमर क्ले (कृत्रिम माटो) बाट झुम्का, टप, नेकलेस र ब्रच बनाउँछिन्। नेपाली परम्परा र विभिन्न फूलका डिजाइनमा आधारित उनका उत्पादन ग्राहकबीच लोकप्रिय छन्। लालीगुराँस, सूर्यमुखी, आँखीझ्याल, कुमारी र मिथिला डिजाइनको माग बढी छ।
कोरोना महामारीका बेला फुर्सदको समय सदुपयोग गर्दै उनले झुम्का र टप बनाउन थालेकी थिइन्। सुरुआती चरणमा गुणस्तरीय सामग्री र लगानीको अभाव भए पनि पद्मकन्या क्याम्पसको स्टार्टअप कार्यक्रमबाट प्राप्त एक लाख रुपैयाँ अनुदानले उनको व्यवसायलाई नयाँ दिशा दियो।
दिउँसो क्याम्पस र बिहान–बेलुका उत्पादन बनाउने दिनचर्याबीच उनले व्यवसायलाई विस्तार गरिन्। सामाजिक सञ्जालमा राखिएका उत्पादनले राम्रो प्रतिक्रिया पाएपछि अर्डर बढ्दै गयो र ग्राहकले आफ्नै डिजाइनसमेत माग गर्न थाले।
हाल ललितपुरको पाटनढोकामा रहेको ‘माटो क्राफ्ट्स’मा तीन सयभन्दा बढी डिजाइनका इयर–रिङ उपलब्ध छन्। कम्पनीको वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने ६ जनाले रोजगारी पाएका छन्।
आफ्नो उत्पादनलाई विदेशी बजारसम्म पुर्याउने लक्ष्यसहित शुभेच्छा अहिले पनि नयाँ–नयाँ डिजाइन विकासमा सक्रिय छिन्।


0 Comments