Hot Posts

रवि लामिछानेले अभिमुखीकरण कार्यक्रममा के भने? रविको अभिव्यक्तिमा डरैडर

 रवि लामिछानेले अभिमुखीकरण कार्यक्रममा के भने? दुईतिहाइको शक्तिशाली जनलहरले रविको अभिव्यक्तिमा डरैडर


पहिलो दिन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दुवै सहभागी भएनन् । समापनको दिन सभापति लामिछाने सहभागी भए । तर, उनका अभिव्यक्ति अर्थपूर्ण रहन पुगे । स्वभावअनुसार नै लामो अभिव्यक्ति दिएका लामिछाने भाषण अवधिभर दुईतिहाइको उल्लास र उत्साहका भाषा कम बोले । नयाँ पार्टी फरकफरक पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय र पेसाका सांसदको कार्यशैलीमा केन्द्रित भइरहे । दुईतिहाइ मत जितभन्दा बढी जिम्मेवारीको भारी रहेको उनले पटकपटक सांसदलाई सम्झाएका छन् ।  

अघिपछि कटाक्ष, आलोचना र भँडासको भाषा बोल्ने लामिछानेले बुधबार निकै सम्हालिएर जिम्मेवार नेताको शैलीमा बोले । देश बदल्ने आफूहरूको अपिललाई जनताले मत खन्याएर अनुमोदन गरेपछि नतिजामुखी बन्न उनले पटकपटक सांसदहरूलाई प्रेरित गरेका छन् ।

‘धेरै केही भन्नुभन्दा पनि तपाईंहरूलाई एउटा जिम्मेवारी महसुस गराउनका निमित्त यहाँ खडा भएको छु, गर्वका साथ खडा भएको छु, गर्वका साथ हामी भन्न सक्छौँ कि यो नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्’ भन्ने अभिव्यक्तिबाट उनले भाषण अगाडि बढाएका थिए । आफैँसमेत पटकपटक विवादमा तानिएका रवि सुरुबाटै पारदर्शितामा बढी केन्द्रित भए ।  

सांसदहरूबीचमा गरिने कार्यक्रम भए तापनि यो सम्बोधनलाई सञ्चारकर्मी साथीहरूको माध्यमबाट संसारभरि पुर्‍याउने निर्णय भएको हुनाले म न त लुकाउनुपर्ने कुरा हाम्रो के नै छ र ? पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कडी हो,' उनले भने, 'केही पारदर्शितामा उभिएर तपाईंहरूलाई केही मीठा–नमीठा कुरा बताउन गइरहेको छु । सबै मीठा कुरा गर्ने पनि समय छैन, सधैँ तितो कुरा गरेर पनि हुँदैन । तर, आज मीठा–तितो कुरा गरौँ ।'



सुरुवातमा उनले आज नमस्कार गरेर भोट मागेको नबिर्सिन आग्रह गरे । ‘नेतृत्व र जनताको बीचमा एउटा ठूलो पर्खाल छ । कैयौँ नेताहरूसँग जनता नजिक हुने चाहना नै राख्दैनन् । किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने लाग्दै लाग्दैन । आज घर–घरमा नमस्कार गरेर हामी पुगेका छौँ,’ रविले भनेका छन्, 'भोलि तिमीले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईं हामी पुग्न सक्छौँ, होसियार ! त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन् । अबको ५ वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गरौँ ।’ 

सरकार बन्ने प्रक्रिया सुरु नहुँदैदेखि पार्टीभित्र गुटगत दौडधुप बढेको प्रति उनी गम्भीर सुनिए ।  

‘यो ५ वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ । आदरणीय साथीहरू, मलाई थाहा छ, राजनीति यसैगरी चल्छ भनेर कतैकतै मानिसहरू त्यही ढंगले दौडधुप गरेको पनि मैले देखिरहेको छु,’ रविले चेतावनीको भाषामा भने, 'राजनीति यसरी चल्नेवाला छैन, ’नथिङ’, कुनै पनि चीज हिजोजस्तो चल्नेवाला छैन, काँचुली फेर्दै छ । सर्लक्कै काँचुली फेर्दै छ । सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन् ।’ 

उनले प्रस्टै भाषामा नेताको दैलो धाउने र गुटबन्दीको अभ्यास नगर्न निकै जोड दिए ।  

‘तपाईंहरूलाई मान्छेको घरमा धारा आउँछ आउँदैन, तपाईंलाई थाहा हुनुपर्छ । अध्ययन गर्नुपर्ने हुन्छ । त्यस कारण यसपटक यो शक्तिको दौडधुप यताउता, यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि, यसो भेटेर फोटो खिचेर हुन्छ कि, यो पसल बन्द गर्नुपर्छ अब,’ रविले भने, 'आज ’ल मेकर’ कानुन निर्माताको रूपमा तपाईंको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ ।’

पुराना दल कांग्रेस, एमाले र माअ‍ोवादीले गरेनन्, सकेनन् भनेपछि जनताले मत खन्याइदिएकाले रास्वपालाई बहानाको अवसर नभएको उनको भनाइ छ ।

‘कैयौँ पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन् । संविधान निर्माण भएको यति लामो समय भइसक्यो । विभिन्न बाधा अड्चनहरू भए,’ उनले भने, 'तर, नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुईतिहाइको बहुमत परिवर्तनको पक्षमा दिएका छन्, अब के को बाधा ? अब केले अड्काउँछ हामीलाई ? अब अड्काउने भनेको तपाईं हाम्रो नियतले मात्रै हो, अरु केही होइन ।’ 

अघिल्लोपटक रास्वपालाई २१ सिट दिएर पुराना दललाई सच्चिने अवसर दिए पनि उनीहरूले नसिकेकाको अर्थपूर्ण अभिव्यक्ति उनको थियो ।  

‘जनता नै खराब भए कि’ भनेर चुनौती दिन्छन् । होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई २०–२१ सिट दिने एकैपटक दुईतिहाइ दिन सक्थे जनताले,’ रविले भनेका छन्, 'तर, अघिल्लो चुनावमा जनताले के भने भने यी नयाँलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमात्तिऊन्, त्यति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी, सिध्याइ नहाल्ने गरी नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे । ’


नागरिकको विवेकलाई अघिल्लोपटक दलहरूले चुनौती दिएपछि आफूहरूलाई जनताले यसपटक अनुमोदन गरेको उनको प्रस्टोक्ति थियो । दुईतिहाइबाट नसिके रास्वपालाई बिग्रन ३५/३६ वर्ष होइन, ३५/३६ महिना काफी हुने उनको भनाइ थियो ।  

‘नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो । शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३४–३५–३६ वर्षसम्म कुरे, तपाईं हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैनन्,’ रविले निर्धक्क भएर सुन्न आग्रह गर्दै भने, 'किनकि जनता अब्बल चेतनामा आएका छन् ।’


गुटबन्दी गरे कांग्रेस र एमालेको भन्दा खराब स्थिति रास्वपाले भोग्नुपर्ने चेतावनी पनि रविले दिए ।  

‘अब कानुन निर्माताको रूपमा अब तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन, गुट बनाएर कसैलाई जितिँदैन साथी हो । कुनै गुट बनाउनु पर्दैन, घण्टीका मुनि सबै अटाउन सक्छौँ । घण्टीसँग त्यति धेरै तागत छ,’ रविले भनेका छन्, 'आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? मलाई के हुन्छ ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसदमा मेरो हैसियत के हुन्छ ? सरकारमा मेरो हैसियत के हुन्छ ? यो म–केन्द्रित राजनीतिबाट बाहिर हुन सकिएन र देश–केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूको भन्दा पनि खराब हुन्छ । त्यसैले आफूलाई केन्द्रमा नराख्नुस् ।’

यसअघिको जस्तो प्रधानमन्त्री र मन्त्रीको सपनाको भारी देशले बोक्न नहुने उनले बताए ।  

‘राष्ट्रिय सहमति गरेजस्तो भन्दै राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्ना आफ्ना ठाउँ सुरक्षित राखे, पार्टीले आफ्ना–आफ्ना ठाउँ सुरक्षित राखे । तर, देशलाई सुरक्षित राखियो कि राखिएन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो,’ रविले प्रस्ट्याउँदै भनेका छन्, 'यतिखेर देश केन्द्रमा छ । देशले देखेको सपना हामीले पूरा गर्ने हो । तपाईंको र मेरो मन्त्री–प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन । यो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन । तर, यो समाजको सपनाको भारी तपाईं हामीले बोक्ने हो, त्यसका लागि तपाईं हामीलाई मत दिएर पठाएका हुन् ।’ 

रविले सचेत गराउन खोजेको अर्को महत्त्वपूर्ण विषय हो– सरकार बनेकै बेलुकाबाट ढाल्ने खेलको विषय । रास्वपालाई अलग गराउन खोज्नेप्रति सचेत हुन उनले आग्रह गरे ।  

‘यो देशमा बिचौलियागिरी व्याप्त छ । मैले छोटो समयको राजनीतिमा जे देखेँ, त्यो अनुभव तपाईंलाई सुनाउँदै छु । तपाईंलाई विचलित बनाउन, तपाईंलाई प्रभावित बनाउनका निमित्त मानिसहरू दौडिन्छन् । यो देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ, बनेको दिनबाट प्रत्येक पटक,’ रविले भनेका छन्, 'हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ । त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँठाउँबाट प्रयास भएको तपाईंहरू हेर्नुहुन्छ होला नि ? समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ । त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ । हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई अलग गराउनेहरूको बिगबिगी छ ।’ 

स्वार्थको बन्दी बनेर विदेशीको जाल, अरुले फुटाए भन्नेतिर लाग्न नहुने उनको भनाइ छ ।  

‘प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन । फरक के हो कि हामी कति बलियो छौँ । आफू बलियो हुनुपर्छ,’ रविले भनेका छन्, 'अरुलाई दोष लगाएर, अर्काले फुटायो, अर्काले शक्ति गर्‍यो, विदेशीको जाल, उसको जाल, यसको जालजस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ । कसैको चाल हुँदैन । हामी मिल्न सकेनौँ भने हामी स्वार्थको बन्दी बन्यौँ भने मात्र समस्या पर्छ ।’ 

उनले हल्काफुल्का अभिव्यक्ति दिने र झिल्के प्रवृत्ति कायम राखे सांसदबाटै हटाउने चेतावनी पनि दिए । ‘हल्काफुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन असर गर्न सक्छ । अब तपाईं हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधिसभाको सदस्य हो,’ रविले भनेका छन्, 'त्यसका कारण आफ्नो भूमिका परिवर्तन भएको छ । होइन, जोकोहीलाई अझै पनि म अभियन्ता नै हुँ भन्ने लाग्छ अथवा पुरानो पेसाकर्मी हुँजस्तो लाग्छ, जोकोहीलाई म हिजोकै जसरी अझै पनि एउटा सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थेँ, त्यस्तै दिन्छु भन्ने अब हुँदैन । तपाईंहरू सांसदको भूमिकाबाट बाहिर रहन सक्नुहुन्छ, केही फरक पर्दैन ।’ 

दुईतिहाइ बहुमत के हुन्छ भनेर अनुशासनविपरीत कामलाई छुट नदिनेसमेत उनले प्रस्ट्याए ।  

‘हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला । कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला, जे–जस्तो भए पनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने सरकार दुईतिहाइको छ, सरकार बहुमतमा रहन्छ । संख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरीकन रास्वपाले जन्मदेखि नै आफ्नो विधानमा स्थापित गरेको ’राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछौँ,’ रविले भनेका छन्, 'एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ । एउटा फ्रिडम तपाईंको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन । पार्टी सभापतिको रूपमा मेरो कुनै पनि आपत्ति छैन, पार्टीले अनुशासनका विषयमा तपाईंहरूलाई कडाइका साथ पालना गराउनेछ ।’ 

अनुशासन नभए पार्टीमा अराजकता छाउने उनको भनाइ छ ।  

उनले सकेसम्म सरकारी अस्पतालमा उपचार गराएर सन्देश दिन आग्रह गरे । सरकारी सेवा प्रवाहलाई चुस्त बनाउने सन्देश रास्वपा सरकारले दिनुपर्ने उनको भनाइ छ । रास्वपाले सरकारबारे अहिलेसम्म निर्णय नगरेको उनले प्रस्ट्याए । तर, मन्त्रीका नाममा लबिङ नगरिदिन पनि उनले आग्रह गरे ।

‘मन्त्री बनाइदिनुस् भनेर या मिडिया ड्रामामा ’म फलानो मन्त्री’ यस्तो चीज बन्द गरिदिनुहोला । किनकि पार्टीले कुन क्षेत्रमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेरसम्म हामीले गरेका छैनौँ,’ रविले भने, 'पार्टीले सही निर्णय गर्छ । कसैलाई तपाईंले भन्नु पर्दैन, हामीलाई थाहा छ । तपाईंहरूको विज्ञता थाहा छ, तपाईंहरूको क्षमता थाहा छ ।’ 

रविले अहिलेको परिवर्तनमा पम्परागत दलको योगदान रहेको भन्दै नजरन्दाज नगर्न आग्रह गरे ।  

‘इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन । इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनुभएको छ,’ रविले भनेका छन्, 'उहाँहरूका कैयौँ बेथितिहरूप्रति हाम्रो गुनासो होला, तर इतिहासमा उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन । म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु । पुराना राजनीतिक दलका सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु ।’ 

बरु रास्वपाका नेता समर्थकहरू उग्र र असहिष्णु छन् भन्ने भाष्य चिर्न आग्रह गरे ।  

‘रास्वपालाई प्रायः अराजक छन्, रास्वपा समर्थकहरू अत्यन्तै धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिन्छन्, व्यक्तिगत गालीगलौजमा उत्रिन्छन्, सुन्नै हुँदैन बोल्नै हुँदैन गाली गरिहाल्छन्, त्यस किसिमको एउटा छवि बनेको छ,’ रविले भने, 'म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ ।’ 

रास्वपाको मात्र जित नभएकाले देशैकै जित भएको जसरी काम गर्न उनले सांसदहरूलाई निर्देशन दिए ।  

‘यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो भन्ने हामीले मान्नुपर्छ । रास्वपाको माध्यमबाट देशले जितोस् भनेर आमनागरिकले हामीलाई भोट दिएका हुन् । त्यस कारण यो जित केवल रास्वपा समर्थक र रास्वपा भोटरको मात्र होइन,’ रविले भने, 'यो जित सम्पूर्ण देशको हुनुपर्नेछ । यसका लागि तपाईं हामीले काम गर्नुपर्नेछ । अबको ५ वर्ष सहज हुनेवाला छैन ।’ 

आफैँबारे कम बोले

यसअघिका अभिव्यक्तिमा आफ्नोबारे धेरै बोल्न लामिछानेले बुधबार थौरै मात्र धारणा राखे । ‘धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन । जति समय राजनीतिमा रहे, सधैँभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नुपर्‍यो । यो पार्टी जन्मिएदेखि यसमाथि प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो, यो पार्टीलाई जन्मैदेखि कुल्चिने कोसिस भयो । बचाउँदै लिएर आउन सक्यौँ,’ रविले भनेका छन्, 'यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो । यो पार्टीको चुनाव चिह्न नै भत्काइदिने गरी प्रहारहरू भए– स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट । जुधेर ल्यायौँ, हामीले घण्टी बचायौँ । किनकि नेपाली जनताका लागि घण्टी बचाउनुपर्थ्यो, घण्टी बजाउनुपर्थ्यो । सजिलो थिएन ।’

रविले बोलेको प्रत्यक्ष लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments