तपाईँको क्षेत्र तथा जिल्लाको वास्तविक नमुना मतपत्र सार्वजनिक यसरी हेर्नुहोस् अनलाइनबाट।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका वास्तविक मतपत्रका नमुनाहरू सार्वजनिक गरेको छ । आयोगले मतदाता शिक्षा र जानकारीका लागि सातै प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको मतपत्रको ढाँचा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका नमुनाहरूमा एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै प्रकारका मतपत्र रहेका छन् । आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ । धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्र (जस्तै काठमाडौँ) मा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा तुलनात्मक रूपमा सानो आकारको मतपत्र रहनेछ ।
आयोगले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूको मतपत्र सार्वजनिक गरिसकेको छ । कर्णालीका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जस्ता एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका मतपत्रको नमुना उपलब्ध छन् । यस्तै, धेरै निर्वाचन क्षेत्र भएका दैलेख, सुर्खेत, अछाम, कञ्चनपुर र कैलालीका क्षेत्रगत मतपत्र पनि सार्वजनिक गरिएका छन् ।
अन्य जिल्लाका मतपत्रहरू पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । हाल जनक शिक्षा सामग्री केन्द्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ भने समानुपातिकतर्फको छपाइ सम्पन्न भइसकेको छ ।
मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन नमुना मतपत्रहरू मतदान केन्द्रसम्म पुर्याउने काम समेत सुरु भइसकेको आयोगको भनाइ छ ।
यसरी हेर्नुहोस् आफ्नो क्षेत्रको मतपत्र:
१. निर्वाचन आयोगको आधिकारिक वेबसाइट election.gov.np मा जानुहोस् ।
२. मेनुमा रहेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ मा क्लिक गर्नुहोस् ।
३. त्यहाँ रहेको ‘वास्तविक मतपत्रको नमुना’ विकल्प छनोट गर्नुहोस् ।
४. वा सिधै यो लिङ्कमा गएर आफ्नो जिल्ला र क्षेत्रको मतपत्र उपलब्ध छ भने डाउनलोड गरी हेर्न सकिनेछ ।

0 Comments