मृत्यु हुँदा हाम्रो मस्तिष्कमा के हुन्छ, अहिलेसम्म के पत्ता लाग्यो?
मृत्यु जीवनको अभिन्न अङ्ग हो। यद्यपि स्नायुवैज्ञानिक (न्यूरोसाइन्टिस्ट) जिमो बोर्जिगिन मृत्युको क्षणमा मस्तिष्कमा के हुन्छ भन्ने विषयमा हामीलाई "केही पनि थाहा नभएको" देखेर आश्चर्यचकित भइन्।
झन्डै एक दशकअघि उनलाई ‘संयोगवश’ त्यस्तो अनुभूति भएको थियो ।
“हामी मुसाहरूमा प्रयोग गरिरहेका थियौँ। हामी शल्यक्रियापश्चात् तिनको मस्तिष्कमा हुने न्यूरोकेमिकलको स्राव निगरानी गरिरहेका थियौँ,” उनले बीबीसी न्यूज मुन्डोलाई बताइन्।
अचानक तीमध्ये दुइटा मुसाको मृत्यु भयो।
यसले उनलाई ती मुसाहरूको मस्तिष्कको मृत्यु प्रक्रिया नियाल्ने अवसर दियो।
“एउटा मुसामा अत्यधिक मात्रामा 'सेरटोनिन' निस्केको देखियो। कतै त्यो मुसा भ्रान्तिमा पो परेको थियो कि?” उनलाई लाग्यो। “सेरटोनिनको सम्बन्ध भ्रान्ति (हलूसिनेशन)सँग हुन्छ,” उनी भन्छिन्।
सेरटोनिन मनस्थिति नियन्त्रण गर्ने जैविक रसायन हो। त्यसको मात्रा ह्वात्तै बढेको देखेर उनको जिज्ञासा पनि बढ्यो।
“त्यसपछि मैले सप्ताहान्तको समयमा उक्त विषयमा अनुसन्धानमूलक सामग्रीहरू छन् कि भनेर सन्दर्भ सामग्री खोज्न थालेँ। तर मृत्यु प्रक्रियाका बारेमा हामीलाई निकै कम ज्ञात रहेछ भन्ने थाहा पाउँदा मलाई निकै अचम्म लागेको थियो।”
त्यसपछि आफू मानिसको मृत्यु हुँदाको क्षणमा मस्तिष्कमा के हुन्छ भन्नेबारे अनुसन्धान गर्न समर्पित गरेको उनी बताउँछिन्। बोर्जिगिन संयुक्त राज्य अमेरिकाको यूभिभर्सिटी अफ मलेक्युलर तथा इन्टग्रटिभ फिजिओलजी र न्यूरोलजीकी प्राध्यापक हुन्।
आफूले पत्ता लगाएको कुरा पहिले अनुमान गरिएकोभन्दा विपरी रहेकी बोर्जिगिन बताउँछिन्।
मृत्यु के हो
उनका अनुसार 'कार्डियाक अरेस्ट' अर्थात् हृदयाघात भएपछि कसैको नाडी चलेको छैन भने उक्त व्यक्तिको मृत्यु भएको मान्ने निकै पुरानो चिकित्सकीय मान्यता थियो।
यो विधिमा सम्पूर्ण ध्यान हृदय अर्थात् मुटुमा केन्द्रित हुन्छ। “यसलाई 'कार्डियाक अरेस्ट' भनिन्छ, 'ब्रेन अरेस्ट' भनिँदैन।”
“कुनै प्रतिक्रिया नजनाउने भएकाले यस्तो अवस्थामा मस्तिष्कले काम गर्न बन्द गरेको भन्ने वैज्ञानिक बुझाइ छ। त्यस्तो अवस्थामा पुगेका मानिसहरू बाेल्न, उभिन वा बस्न सक्दैनन्।”
मस्तिष्कलाई काम गर्न धेरै मात्रामा अक्सिजन चाहिन्छ। मुटुले रक्तसञ्चार गर्न सकेन भने अक्सिजन पनि त्यहाँ पुग्दैन।
“त्यसैले यी सतही सङ्केतहरूले अब मस्तिष्कले काम गरिरहेको छैन भन्ने देखाउँछन् वा मस्तिष्क अतिसक्रिय होइन, अतिनिष्क्रिय अवस्थामा छ भन्ने देखाउँछन्,” उनी भन्छिन्।
तर उनको समूहले गरेको अनुसन्धानमा भने केही फरक पाइएको छ।
मस्तिष्कको अतिसक्रिय अवस्था
सन् २०१३ मा मुसाहरूमा गरिएको एउटा अध्ययनमा वैज्ञानिकहरूले ती जीवका मुटुले काम गर्न छाडेपछि पनि केही 'न्यूरोट्रान्स्मिटर'मा अत्यधिक गतिविधि भएको पाएका थिए।
“सेरटोनिन ६० गुनाले बढेको थियो। अनि तपाईँ हामीलाई आनन्द अनुभूति गराउने 'डोपमीन' नामक रसायन पनि अत्यधिक मात्रा, झन्डै ४० देखि ६० गुनाले, बढेको थियो।”
“अनि तपाईँलाई चनाखो बनाउने 'नोरेपिनेफ्रिन' पनि १०० गुनाले बढेको थियो।”
उनी मुसा जीवित हुँदा ती रसायन त्यति उच्च मात्रामा पुग्ने सम्भावना नभएको बताउँछिन्।
सन् २०१५ उनको टोलीले मर्दै गरेका मुसाको मस्तिष्कबारेको अर्को शोधपत्र पनि प्रकाशित गर्यो।
“दुवै घटनामा सबै मुसाले अत्यधिक कार्यात्मक मस्तिष्क सक्रियता देखाए,” उनी भन्छिन्।
“मस्तिष्कमा 'हाइपरड्राईभ'मा हुन्छ, अतिसक्रिय अवस्थामा हुन्छ।”
मृत्यु भए जस्तो अनुभूति
मृत्यु भए जस्तो अनभूति 'एनडीई' भएका केही मानिसले आँखैअगाडि आफ्नो जीवनको झल्को देखेको वा महत्त्वपूर्ण क्षणहरू सम्झिएको बताउँछन्।
कोहीकोही निकै चम्किलो उज्यालो देखेको बताउँछन् भने कतिपयले शरीर छोडेर बाहिर निस्किए जस्तो अनुभव भएको अनि माथिबाट सबै कुरा हेरे जस्तो लागेको बताउँछन्।
के डा बाेर्जिगिनले अध्ययन गरेको अतिसक्रिय मस्तिष्कले मृत्युको सँघारमा हुँदा मानिसहरू कि त्यस्ता सघन अनुभव गर्छन् भन्ने स्पष्ट पार्न सक्छ?
“हो, मलाई व्याख्या गर्न सक्छ जस्तो लाग्छ,” उनी भन्छिन्।
“हृदयाघात भएपछि जीवित रहेका २० देखि २५ प्रतिशत मानिसले सेतो प्रकाश वा अरू केही देखेको बताएका छन्। त्यसले [मस्तिष्कको] 'भिजूअल कोर्टेक्स' सक्रिय भएको सङ्केत गर्छ।" मस्तिष्कको उक्त भागले आँखाको पर्दा 'रेटिना' बाट प्रसारित दृश्यात्मक सूचना प्राप्त गर्छ अनि संयोजन र प्रशोधन गर्छ।
भेन्टिलेटर बन्द गरिएपछि मस्तिष्कमा उच्च सक्रियता देखिएका दुई बिरामीको हकमा भने सचेत हुँदाको दृष्टिलाई सहयोग गर्ने 'भिजूअल काेर्टक्स'मा निकै गतिविधि भएको बोर्जिगिन बताउँछिन्। "सम्भवतः त्यस त्यसको सम्बन्ध दृश्यात्मक अनुभूतिसँग हुन्छ," उनी भन्छिन्।
अझै धेरै जान्न बाँकी छ
डा बाेर्जिगिन आफू र आफ्नो टोलीले अहिलेसम्म अध्ययनबाट पत्ता लगाएको कुरा निकै सानो भएको र अझ धेरै कुरा पत्ता लाग्न बाँकी भएको ठान्छिन्।
“मस्तिष्कमा 'हाइपोक्सिआ' (मस्तिष्कमा अक्सिजनको कमी हुँदाको अवस्था)सँग जुध्न आन्तरिक संयन्त्रहरू छन् भन्ने मलाई लाग्छ। हामीले तिनलाई बुझ्न सकेका छैनौँ।”
“त्यसैले हामीलाई हृदयाघात भएका मान्छेहरूलाई अद्भुत, आत्मपरक अनुभव हुन्छ भन्ने सतही कुरा थाहा छ। अनि हाम्रो तथ्याङ्कले त्यस्तो अनुभूति मस्तिष्कको गतिविधि उच्च भएकाले हुन भन्ने देखाउँछ।”
“अबको प्रश्न यो हो : मृत्यु हुँदै गरेको मस्तिष्कमा किन उच्च गतिविधि हुन्छ?”
“यसबारे बुझ्न, अध्ययन गर्न, अनुसन्धान गर्न र पत्ता लगाउन हामी एकजुट हुनुपर्छ। किनभने हामीलाई मृत्यु कसरी हुन्छ भन्ने थाहा नभए पनि हामीले लाखौँ मानिसको मृत्यु भएको भनेर अपरिपक्व निर्णय गरेका हुन

0 Comments