Header Ads Widget

बजेटअघि भित्रिएका EV गाडीबारे छानबिनको निष्कर्ष, सूचना चुहावटको आरोप अस्वीकार


 EV आयात प्रकरणमा भन्सार विभागको निष्कर्ष : कुनै अनियमितता भेटिएन

बजेट सार्वजनिक हुनुअघि नै करसम्बन्धी सूचना चुहाएर विद्युतीय सवारीसाधन (EV) आयात गरिएको आरोपका कारण चर्चामा आएको प्रकरणमा भन्सार विभागले कुनै कैफियत नदेखिएको निष्कर्ष निकालेको छ।

बिवाईडी (BYD) गाडीको आधिकारिक आयातकर्ता साइमेक्स इंक प्रा.लि. ले बजेटमा आउने करदरबारे पूर्व जानकारी प्राप्त गरी गाडी भित्र्याएको भन्दै विभिन्न आरोप तथा आशंका उठाइएका थिए। तर विभागले गरेको अध्ययन, अनुगमन र अनुसन्धानपछि ती गाडीहरू नियमानुसार जाँचपास भएर नेपाल भित्रिएको पुष्टि भएको जनाएको छ।

आयात प्रक्रियाका सम्पूर्ण कानुनी मापदण्ड पूरा गरी गाडी भित्र्याइए पनि जाँचपास भइसकेर गन्तव्यतर्फ पठाइँदै गरेका BYD का विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि तत्कालीन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र आयातकर्ता कम्पनीलाई जोडेर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएका थिए।

यद्यपि, भन्सार विभागले विस्तृत अध्ययन र स्थलगत अनुगमनपछि ती आरोपलाई पुष्टि गर्ने कुनै आधार नभेटिएको स्पष्ट पारेको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ जेठ १७ गते विभागका निर्देशकको नेतृत्वमा पहिलो अनुगमन गरिएको थियो। त्यसपछि जेठ २१ गते अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोलीले समेत स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो।

प्रतिवेदनमा मुस्ताङ भन्सार कार्यालयमार्फत २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारीसाधन जाँचपास भएको उल्लेख गरिएको छ। ती सवारीसाधनको आयात तथा जाँचपास प्रक्रिया नौ वटा घोषणापत्रमार्फत अघि बढाइएको विभागले जनाएको छ।

अनुगमनको क्रममा लक्ष्मी ई–मोबिलिटी प्रा.लि., साइमेक्स इंक प्रा.लि., सीजी मोटर्स प्रा.लि., पूजा इन्टरनेशनल नेपाल प्रा.लि. तथा पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि. लगायत कम्पनीहरूले आयात गरेका सवारीसाधनको कागजात, भन्सार प्रक्रिया र जाँचपास प्रणालीको विस्तृत समीक्षा गरिएको थियो।

भन्सार विभागको निष्कर्ष अनुसार सम्बन्धित सबै विद्युतीय सवारीसाधन प्रचलित कानुन, प्रक्रिया र मापदण्डअनुसार नै जाँचपास भई नेपाल भित्रिएको पाइएको छ। विभागले हालसम्म कुनै प्रकारको अनियमितता, सूचना चुहावट वा विशेष सुविधा दिएको प्रमाण नभेटिएको जनाएको छ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments