रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।
यसपटकदेखि दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ । यसरी दर्ता हुने सवारी साधनको कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन २०४९ मा छ
यसरी दर्ता हुने दुइपाङ्ग्रे सवारी साधनले वार्षिक आयाकर तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ । अहिले यो कर ३ हजार रुपैयाँ तोकिएको छ ।
हालसम्म रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले नै राइड सेयरिङ सेवा दिइरहेका छन् । सरकारको यो नियमसँगै अब यस्ता राइड सेयरहरू कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने भएको छ ।
त्यस्तै, सरकारले राइड सेयरिङबापत प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत करसमेत लाग्ने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार भाडाको रूपमा प्रयोग हुने विद्युतीय ई-रिक्सा र दुई पांग्रे सवारी साधनलाई थप गर्दै वार्षिक आयकर लाग्ने व्यवस्था गरिएको हो ।
यसअनुसार विद्युतीय ई-रिक्साको हकमा ३,५०० र दुई पांग्रे सवारी साधनको हकमा ३,००० रुपैयाँ वार्षिक आयकर तोकिएको छ ।
यससँगै अब ई-रिक्सा र दुई पांग्रे सवारी कालो प्लेटमा दर्ता गर्न बाटो खुला भएको छ । यससँगै राइड सेयरिङहरूलाई पनि कालो नम्बर प्लेटमा लैजान बाटो खुल्ने छ । अहिलेसम्म चार पांग्रे सवारीमात्र कालो नम्बर प्लेट(भाडाका सवारी) को रुपमा दर्ता हुने व्यवस्था रहेकोमा बालेन नेतृत्वको सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत यस्तो व्यवस्था गरेका हुन् । नयाँ यातायात सम्बन्धी ऐनमा समेत दुई पांग्रे सवारीलाई कालो नम्बर प्लेट दर्ता गर्ने व्यवस्था गरेर तयार भइरहेको छ ।
यो आयकर शुल्क सवारी साधन दर्ता वा नवीकरणको समयमा बुझाउनुपर्नेछ ।
यस्तै, भाडाको रूपमा प्रयोग हुने सवारी साधनको वार्षिक आयकरसमेत वृद्धि गरिएको छ ।
कुनको कति ?
जसअनुसार १,३०० सीसी क्षमताको कार, जीप, भ्यान, माइक्रोबसकतर्फ ५,५०० बाट वृद्धि गरी ६,५०० बनाइएको छ । १,३०० सीसीदेखि २,००० सीसीसम्मको ६,००० बाट वृद्धि गरी ७,००० कायम हुँदा २,००० सीसीदेखि २,९०० सीसीसम्मको ६,५०० बाट वृद्धि गरी ७,५०० बनाइएको छ । २,९०० सीसीदेखि ४,००० सीसीसम्मको ८,००० लाई वृद्धि गरी ९,५०० र ४,००० सीसीभन्दा माथिका सबैको हकमा रहेको ९,००० लाई वृद्धि गरी ११,००० रुपैयाँ वार्षिक आयकर लाग्ने व्यवस्था गरिएको छ ।
यस्तै, मिनीट्रक, मिनीबस, पानी ट्याङ्करतर्फको ८,००० लाई वृद्धि गरी ९,५००, मिनी टिपरको ९,००० लाई वृद्धि गरी ११,०००, ट्रक र बसको १०,५०० लाई वृद्धि गरी १२,५००, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनजस्ता मेसिनरी उपकरणतर्फ १५,५०० लाई वृद्धि गरी १७,५०० रुपैयाँ वार्षिक आयकर तोकिएको छ ।
यस्तै, तेल ट्याङ्कर, ग्यास बुलेट र टिपरको १५,५०० लाई वृद्धि गरी १७,५००, ट्र्याक्टरको २,५०० लाई वृद्धि गरी ३,५००, पावर टिलरको २,००० लाई वृद्धि गरी ३,०००, अटो रिक्सा, थ्री-ह्विलर, टेम्पोतर्फको २,५०० लाई वृद्धि गरी ३,५००, विद्युतीय सवारी साधनतर्फ ५० किलोवाटसम्मको ३,००० लाई वृद्धि गरी ४,०००, ५० किलोवाटदेखि १२५ किलोवाटसम्मको ४,००० बाट ५,०००, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मको ६,००० बाट ७,५००, र २०० किलोवाटभन्दा माथिका सबै सवारीको ७,५०० लाई वृद्धि गरी ९,५०० रुपैयाँ वार्षिक आयकर तोकिएको छ ।

0 Comments