तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन शाहको बयान
काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहले २३ भदौको जेन–जीको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको बयान दिएका छन् । गौरीबहादुर कार्कीको छानबिन आयोगलाई बालेनले शान्तिपूर्ण समर्थन रहे पनि आन्दोलन समर्थन नभएको बयान दिएका हुन् ।
‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारीनिवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन’, बालेनको बयान कागज व्यहोरोमा उल्लेख छ । व्यवसायी र रेष्टुरेन्टले आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उनको दाबी छ ।
‘व्यवसायी र रेष्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो । २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाएँ, मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो,’ बालेनले भनेका छन्, ‘जनधनको रक्षाको लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ ।’
घटनापश्चत प्रहरी र अन्य विभागसँग समन्वय गरेको उनको भनाइ छ । ‘घटनापश्चात महानगर प्रहरी बललगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो’, २४ गतेको घटना दुखद् रहेको भन्दै उनले सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा भएको बताएका छन् ।
‘२४ गतेको घटना दु:खद थियो, र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो, र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो’, उनले बयानमा भनेका छन् ।
राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्न आफूले भूमिका खेलेको उनको भनाइ छ । आन्दोलनको सबै जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने उनको भनाइ छ ।
‘सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो, र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’, बालेनले बयानमा भनेका छन्, ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरूप फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाई दिन्छु शब्द प्रयोग भएको थिएन ।’

0 Comments