Hot Posts

कार्की आयोगलाई रविले दिएको बयान यस्तो छ.....

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी विद्रोहका क्रममा २४ भदौमा भएको घटनामा आफू र आफ्नो पार्टीको संलग्नता नरहेको कार्की आयोगलाई बयान दिएका छन् । 

जेन–जी घटनासम्बन्धी जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानका सभापति लामिछानेले सो दाबी गरेका छन् ।

‘भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौँ । र, यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ’, रविले आयोगलाई दिएको बयानमा भनेका छन् ।

त्यस्तै, लामिछानेले नख्खुस्थित कारागारबाट आफ्नो चाहनाविपरीत बाहिर निस्किएको बयान दिएका छन् ।

‘भदौ २४ गते करिब दिउँसो १२ः३० बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाई सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भिड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाई बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराए,’ बयानमा रविले भनेका छन्, ‘मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेँ । तथापि, जेल प्रशासनले भिडलाई म स्वयम्‌ले सम्झाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेपछि म कारागार प्रांगणमै रहेर भिडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनेँ ।’

त्यसपछि प्रहरी आत्तिएको र भिडले आफूलाई धकेलेर बाहिर पुर्‍याएको लामिछानेले बताएका छन् । ‘त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भिडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ ।’

लामिछानलेले अगाडि भनेका छन्, ‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भिडले मलाई कारागार बाहिर लगे । पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयम् जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो । वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भिडको जिम्मा लगाइयो, र म निस्किन नचाहँदा नचाहँदै जबर्जस्ती बाहिर पठाइयो ।’

कारागारबाट बाहिरिएपछि कलाकार रामकृष्ण ढकालको गाडीमार्फत आफू सुरक्षित स्थानमा पुगेको उनको भनाइ छ । त्यसपछि आफूबारे सुरक्षा निकायलाई जानकारी दिएको उनको दाबी छ ।

त्यसपछि २८ भदौमा सुरक्षाको प्रत्याभूति पाएपछि पुनःनख्खु कारागार फर्किएको उनले बयान दिएका छन् ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो





Post a Comment

0 Comments