अत्याधुनिक प्रविधिको सहयोगमा अमेरिकाले यसरी पक्राउ गरेको थियो भेनेजुएलका राष्ट्रपति मदुरो
अमेरिकी स्पेसल फोर्सले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सञ्चालन गरेको 'अप्रेसन एब्सोल्युट रिजोल्भ'का क्रममा आधुनिक युद्ध कला र अत्याधुनिक प्रविधिको भरपुर प्रयोग गर्यो । यस अभियानमा जासुसीदेखि लिएर साइबर हमला र रियल-टाइम मनिटरिङसम्मका प्रविधिहरू समावेश थिए ।
गत अगस्टमा सीआईएका अधिकारीहरूको एउटा गुप्त टोली भेनेजुएला प्रवेश गर्यो । उनीहरूको योजना निकोलस मदुरोको बारेमा जानकारी सङ्कलन गर्नु थियो, जसलाई ट्रम्प प्रशासनले 'नार्को-टेररिस्ट' (लागूऔषध-आतङ्कवादी) घोषणा गरेको थियो ।
सीआईए टोली कराकसमा महिनौँसम्म कसैले मेसो नपाउने गरी सक्रिय रह्यो । भेनेजुएली नेताको नजिकका एक सुराकी र आकाशमा गोप्य रूपमा उडिरहेका 'स्टेल्थ ड्रोन'हरूको सूचनाको संयोजनले एजेन्सीलाई उनको दिनचर्याको सूक्ष्म विवरण मापन गर्न सक्षम बनायो ।
स्टेल्थ ड्रोन भनेको यस्तो अत्याधुनिक मानव रहित विमान हो, जसलाई शत्रुको राडार वा निगरानी प्रणालीले सजिलै पत्ता लगाउन नसक्ने गरी डिजाइन गरिएको हुन्छ । सीआईएले आक्रमण अघि भेनेजुएलाका राष्ट्रपति मादुरोको कम्पाउन्ड माथि गोप्य रूपमा स्टेल्थ ड्रोनहरूको एउटा समूह (फ्लिट) उडाएको थियो । यसले मादुरोको दैनिक चालचलन, उनी हिँड्ने बाटो र उनको तालिकाको सूक्ष्म विवरणहरू सङ्कलन गर्न र नक्साङ्कन तयार पार्न मद्दत गरेको थियो ।
यी ड्रोनहरू महिनौँसम्म भेनेजुएलाको आकाशमा उड्दा पनि त्यहाँको सरकारले यसबारे भेउ पाउनै सकेन । मुख्य आक्रमणको समयमा सहरको बिजुली काटिएपछि यी ड्रोनहरू अन्य विमानहरूसँगै पत्ता नलाग्ने गरी निशाना नजिक पुगेका थिए ।
यी ड्रोनहरूले अमेरिकी लडाकु विमान र बम वर्षकहरूसँग मिलेर भेनेजुएलाको राडार र हवाई प्रतिरक्षा प्रणालीलाई खोज्ने र नष्ट गर्ने काम गरेका थिए । यसले गर्दा कमान्डो बोकेका हेलिकोप्टरहरूका लागि सुरक्षित बाटो खुलेको थियो ।
यो निकै खतरनाक मिसन थियो । अमेरिकी दूतावास बन्द भएकाले सीआईए अधिकारीहरूले कूटनीतिक आवरणमा काम गर्न सक्दैनथे । तर पनि यो मिसन अमेरिकाका लागि निकै सफल रह्यो । जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले एक पत्रकार सम्मेलनमा बताए अनुसार टोलीले सङ्कलन गरेको जासुसी सूचनाका कारण अमेरिकालाई मदुरो कहाँ जान्थे, के खान्थे र कस्ता घरपालुवा जनावर पाल्थे भन्ने समेत थाहा थियो ।
त्यो जानकारी शनिबार बिहान सबेरै गरिएको सैन्य कारबाहीका लागि महत्वपूर्ण थियो । यो सन् २०११ मा पाकिस्तानको सेफ हाउसमा ओसामा बिन लादेनलाई मार्ने नेभी सिल टिम-६ (SEAL Team 6) को कारबाहीपछिको यस्तै प्रकृतिको सबैभन्दा जोखिमपूर्ण अमेरिकी सैन्य कारबाही थियो । जसलाई एलिट 'आर्मी डेल्टा फोर्स' कमान्डोहरूले चलाएका थिए ।
यसको नतिजा रणनीतिक रूपमा सटीक र तदारुकताका साथ कार्यान्वयन गरिएको अपरेसन थियो, जसले कुनै पनि अमेरिकीको ज्यान जोखिममा नपारी मदुरोलाई उनको देशबाट बाहिर निकाल्यो । भेनेजुएलामा अमेरिकी कारबाहीको वैधता र कारणबारे प्रश्नहरू उठिरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले यो नतिजाको प्रशंसा गरेका छन् ।
ट्रम्पले 'अपरेसन एब्सोल्युट रिजल्भ' नाम दिइएको यस कारबाहीलाई लागूऔषध ओसारपसारमाथिको प्रहारको रूपमा चर्चा गरेका छन् । तर अन्य देशहरूको तुलनामा अन्तर्राष्ट्रिय लागूऔषध व्यापारमा भेनेजुएला त्यति ठुलो खेलाडी नभएको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।
विगतमा विभिन्न देशमाथि गरिएका अमेरिकी हस्तक्षेपहरू भद्रगोल भएका थिए । पानामामा सेनाले वा क्युबामा सीआईएले गरेका असफल प्रयासको विपरीत मदुरोलाई समात्ने अपरेसन लगभग त्रुटि रहित थियो ।
तयारीको क्रममा डेल्टा फोर्स कमान्डोहरूले केन्टकीमा 'जोइन्ट स्पेसल अपरेसन कमान्ड'ले निर्माण गरेको मदुरोको कम्पाउन्डको पूर्ण-आकारको नमुनाभित्र अभ्यास गरेका थिए । उनीहरूले तीव्र गतिमा स्टिलका ढोकाहरू फोड्ने अभ्यास गरेका थिए ।
सेनाले मौसम सफा हुने र नागरिक क्षति कम हुने समयको पर्खाइमा यो मिसन कार्यान्वयन गर्न केही दिनदेखि तयारी गरिरहेको थियो । तनाव बढ्दै जाँदा मदुरो ६ देखि ८ वटा स्थानहरूमा सरिरहन्थे र उनी कहाँ बस्नेछन् भन्ने कुरा अमेरिकालाई कहिलेकाहीँ अबेर राती मात्र थाहा हुन्थ्यो । अमेरिकी सेनालाई अपरेसन कार्यान्वयन गर्न मदुरो उनीहरूले आक्रमणको अभ्यास गरेको कम्पाउन्डमै छन् भन्ने पुष्टि हुन आवश्यक थियो ।
छापा मार्नु अघिका दिनहरूमा अमेरिकाले उक्त क्षेत्रमा विशेष अपरेसन विमानहरू, इलेक्ट्रोनिक युद्धक विमानहरू, सशस्त्र रिपर ड्रोनहरू, खोज तथा उद्धार हेलिकोप्टरहरू र लडाकु विमानहरूको सङ्ख्या बढाएको थियो । सशस्त्र रिपर ड्रोन र इलेक्ट्रोनिक युद्धक विमानहरूले कमान्डोहरूलाई हवाई सुरक्षा प्रदान गरेका थिए ।
विश्लेषकहरूका अनुसार यी अन्तिम समयका थप मद्दतहरूले सैन्य कारबाही 'हुने कि नहुने' भन्ने होइन, 'कहिले हुने' भन्ने मात्र प्रश्न रहेको सङ्केत गरेका थिए ।
अमेरिकाले मदुरोमाथि दबाब बढाउन र उनलाई पक्राउ गर्ने छापाको तयारीका लागि अन्य कदमहरू पनि चालेको थियो । एक हप्ता अघि सीआईएले भेनेजुएलाको एक बन्दरगाहमा ड्रोन आक्रमण गरेको थियो । र महिनौँसम्म अमेरिकी सेनाले कानुनी रूपमा विवादित अभियान चलायो । जसबाट क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा दर्जनौँ डुङ्गाहरू नष्ट गर्नुका साथै कम्तीमा ११५ जनाको ज्यान लियो ।
हालैका दिनहरूमा मदुरोले अमेरिकी आक्रमण रोक्न प्रयास गर्दै अमेरिकालाई भेनेजुएलाको तेलमा पहुँच दिने प्रस्ताव राखेका थिए । ट्रम्प आफैँले शनिबार यो विषय खुलाए । एक अमेरिकी अधिकारीका अनुसार, २३ डिसेम्बरमा प्रस्ताव गरिएको उक्त सम्झौता अनुसार मदुरो देश छोडेर टर्की जानुपर्ने थियो । तर मदुरोले आक्रोशित हुँदै उक्त योजना अस्वीकार गरेको ती अधिकारीले बताएको न्युयोर्क टाइम्सले लेखेको छ । मदुरोको उक्त प्रतिक्रियाले उनी गम्भीर नभएको स्पष्ट हुन्थ्यो ।
वार्ता विफल भएपछि पक्राउ मिसनको बाटो खुल्यो, जसको परिणति मदुरोलाई अमेरिका उडाएर सङ्घीय लागूऔषध ओसारपसारको अभियोग सामना गर्न ब्रुकलिनमा जेल चलान गरियो । अमेरिका आउँदैछ भन्ने कुरामा भेनेजुएला सरकारलाई सायद कमै शङ्का थियो । तर सेनाले 'ट्याक्टिकल सरप्राइज' कायम राख्न धेरै प्रयास गर्यो, जसरी यसअघि इराना आणविक भट्टी नष्ट गर्ने अपरेसनमा गरेको थियो ।
ट्रम्पले अमेरिकी सेनालाई डिसेम्बर २५ मै अघि बढ्न अनुमति दिएका थिए । तर आक्रमणकारी बल तयार छ र जमिनको स्थिति उपयुक्त छ भन्ने सुनिश्चित गर्न पेन्टागनका अधिकारी र विशेष अपरेसन योजनाकारहरूलाई समय निर्धारणको जिम्मा दिएका थिए ।
अमेरिकी सेना बिदाको समयमा अपरेसन सञ्चालन गर्न चाहन्थ्यो । किनभने धेरै सरकारी अधिकारीहरू छुट्टीमा थिए र भेनेजुएलाका धेरै सैनिक कर्मचारीहरू पनि बिदामा थिए ।
खराब मौसमले अपरेसनलाई केही दिन पर धकेल्यो । यद्यपि, हप्ताको सुरुमा मौसम सफा भयो र सैन्य कमान्डरहरूले आगामी दिनहरूमा आक्रमणको अवसरहरूको 'रोलिङ विन्डो' देखे । ट्रम्पले शुक्रबार राति १०:४६ बजे अन्तिम आदेश दिए ।
यदि मौसम सफा नभएको भए, मिसन मध्य जनवरीसम्म धकेलिन सक्थ्यो । अमेरिकी अधिकारीहरूले केही हवाई साधनहरू उडाउन पहिलो चरणको स्वीकृति दिएसँगै अपरेसन आधिकारिक रूपमा शुक्रबार साँझ ४:३० बजे सुरु भयो । तर यसको मतलब पूर्ण मिसन स्वीकृत भइसकेको थिएन । अधिकारीहरूले अर्को छ घण्टासम्म मौसम र मदुरोको स्थान लगायत जमिनको स्थिति निगरानी गरिरहे ।
ट्रम्पले त्यो साँझ आफ्नो फ्लोरिडास्थित क्लब 'मार-अ-लागो' को आँगनमा सहयोगी र क्याबिनेट सचिवहरूसँग डिनर गरे । राष्ट्रपतिका सहयोगीहरूले उनलाई त्यस साँझ पछि लगभग १०:३० बजे, अन्तिम स्वीकृतिको लागि फोन गर्ने बताए । ट्रम्पले फोन मार्फत स्वीकृति दिए अनि त्यहाँको सबैभन्दा सुरक्षित स्थानमा आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग सामेल भए ।
भेनेजुएला भित्र यो प्रयास साइबर अपरेसनबाट सुरु भयो । जसले कराकसको ठुलो हिस्सामा विद्युत् आपूर्ति बन्द गर्यो र सहरलाई अन्धकारमा डुबायो । ताकि विमान, ड्रोन र हेलिकोप्टरहरू पत्ता नलाग्ने गरी नजिक पुग्न सकून् ।
२० वटा विभिन्न सैन्य अखडा र नौसेनाका जहाजहरूबाट उडेर १५० भन्दा बढी सैन्य विमानले यस मिसनमा भाग लिए । जसमा ड्रोन, लडाकु विमान र बम वर्षक समावेश थिए ।
विमानहरू कराकस तर्फ अघि बढ्दै गर्दा, सैन्य र गुप्तचर एजेन्सीहरूले 'ट्याक्टिकल सरप्राइज' कायम राखेको निष्कर्ष निकाले: मदुरोलाई अपरेसन आउँदैछ भन्ने चेतावनी दिइएको थिएन ।
शनिबार बिहान सबेरै अमेरिकी युद्धक विमानहरूले राडार र हवाई सुरक्षा ब्याट्रीहरूमा आक्रमण गर्दा कराकसभर ठुला विस्फोटका आवाज गुञ्जिरहे । सामाजिक सञ्जालमा पोस्ट गरिएका केही विस्फोटहरू नाटकीय देखिए । तर त्यसमध्ये धेरैजसो राडार इन्स्टलेसन र रेडियो प्रसारण टावरहरू नष्ट गरिँदाका दृश्य थिए ।
शनिबारको आक्रमणमा कम्तीमा ४० जना मारिएको भेनेजुएली अधिकारीलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ । जसमा सैन्य कर्मचारीसँगै सर्वसाधारण पनि समावेश छन् ।
जनरल केनले पत्रकारहरूलाई बताए अनुसार लडाकु विमान, बम वर्षक र ड्रोनहरू विशेष अपरेसन फोर्स बोकेका हेलिकोप्टरहरूका लागि सुरक्षित बाटो बनाउन देशको हवाई सुरक्षा खोज्न र नष्ट गर्न भेनेजुएला प्रवेश गरेका थिए । भेनेजुएलाको हवाई सुरक्षा दबाइए पनि स्थानीय समय अनुसार बिहान २:०१ बजे मदुरोको कम्पाउन्डमा पुग्दा अमेरिकी हेलिकप्टरहरूमाथि गोलीबारी भयो । तर अमेरिकी हेलिकोप्टरहरूले अत्यधिक शक्तिका साथ जवाफ दिए ।
एउटा हेलिकोप्टरमा गोली लाग्यो । समग्र अपरेसनमा अमेरिकाका करिब आधा दर्जन सैनिक घाइते भए । मदुरोलाई पक्राउ गर्न खटाइएका डेल्टा फोर्स अपरेटरहरूलाई भेनेजुएलाको सबैभन्दा सुरक्षित सैन्य आधारमा रहेको उनीहरूको लक्ष्यसम्म १६० औँ स्पेसल अपरेसन एभिएसन रेजिमेन्टले पुर्याएको थियो । जुन एक विशिष्ट आर्मी एभिएसन एकाई हो र यसले मोडिफाई गरिएका एमएच-६० र एमएच-४७ हेलिकोप्टरहरू उडाउँछ । जुन रातको समयमा र जमिनको निकै कम उचाइमा उड्न सक्छन् ।
'नाइट स्टकर्स' उपनाम पाएको १६० औँ रेजिमेन्ट उच्च जोखिमपूर्ण, कम उचाइमा र रातको समयमा गरिने मिसनहरूका लागि विशेषज्ञ छ । जसलाई पेन्टागनले हालैका महिनाहरूमा भेनेजुएलाको तट नजिकै 'अभ्यास मिसन' भनेको थियो । जुन यसै एकाईले सञ्चालन गरेको थियो ।
जमिनमा ओर्लिएपछि डेल्टा फोर्स मदुरोलाई खोज्न भवन भित्र तीव्र गतिमा अघि बढ्यो । करिब १,३०० माइल टाढा, मार-अ-लागो भित्रको एउटा कोठाबाट ट्रम्प र उनका मुख्य सहयोगीहरूले आकाशमा रहेको विमानमा जडान गरिएको क्यामेराको मद्दतले छापाको दृश्य लाइभ हेरिरहेका थिए ।
जनरल केनले स्क्रिनमा भइरहेका घटनाहरूको विवरण सुनाउँदै गर्दा राष्ट्रपति ट्रम्पले अपरेसन कसरी अघि बढिरहेको छ भन्नेबारे प्रश्नहरूको वर्षा गरिरहेका थिए । "मैले यसलाई साँच्चै टेलिभिजन शो हेरे जस्तै हेरेँ," ट्रम्पले शनिबार फक्स न्युजलाई भने ।
राष्ट्रपतिले फ्लोरिडाबाट छापाको निगरानी गरिरहँदा, डेल्टा फोर्स अपरेटरहरूले भवनमा प्रवेश गर्न विस्फोटक पदार्थको प्रयोग गरे । ढोका फोडेपछि विशेष अपरेसन फोर्सलाई भवन भित्र मदुरो भएको स्थानसम्म पुग्न तीन मिनेट लाग्यो ।
विशेष अपरेसन फोर्स कम्पाउन्ड हुँदै मदुरोको कोठासम्म पुगेपछि भेनेजुएली नेता र उनकी पत्नीले स्टिलले बलियो पारिएको कोठाबाट भाग्ने प्रयास गरे । तर अमेरिकी सेनाले रोक्न सफल भयो ।
"उनी सुरक्षित ठाउँमा पुग्ने प्रयास गरिरहेका थिए," ट्रम्पले जनरल केनको साथमा आयोजित पत्रकार सम्मेलनमा भने, "त्यो धेरै बाक्लो ढोका थियो, धेरै भारी ढोका । तर उनी त्यो ढोकासम्म पुग्न सकेनन् । उनी ढोकासम्म पुगे, तर बन्द गर्न सकेनन् ।"
भवनमा प्रवेश गरेको करिब पाँच मिनेटपछि, डेल्टा फोर्सले मदुरोलाई नियन्त्रणमा लिएको रिपोर्ट गर्यो । यदि मदुरोले आफूलाई सुरक्षित कोठामा थुनेको वा आत्मसमर्पण गर्न अस्वीकार गरेको अवस्थाका लागि एफबीआईका बन्धक वार्ताकार (hostage negotiator) पनि थिए।
तर, ती वार्ताहरू आवश्यक परेनन् । डेल्टा अपरेटिभहरूले तुरुन्तै मदुरो दम्पतीलाई हेलिकप्टरमा चढाए, जुन कम्पाउन्डमा फर्किसकेका थिए । कराकसको समय अनुसार बिहान ४:२९ बजेसम्म मदुरो र उनकी पत्नीलाई यूएसएस इवो जिमामा सारियो । जुन अमेरिकी युद्धपोत हो र अपरेसनको समयमा भेनेजुएलाको तटबाट करिब १०० माइल टाढा तैनाथ थियो ।
मदुरो दम्पतीलाई इवो जिमाबाट ग्वान्टानामो बेस्थित अमेरिकी नौसेनाको आधारमा सारियो । जहाँ एफबीआईले उनलाई म्यानहट्टनको उत्तरमा रहेको सैन्य नियन्त्रित विमानस्थलमा ल्याउन एउटा ७५७ सरकारी विमान तयार राखेको थियो ।
ट्रम्पले विशेष अपरेसन फोर्स भेनेजुएलाबाट बाहिरिएर समुद्र माथि नपुगुन्जेल हेरिरहे ।अमेरिका भेनेजुएला विरुद्ध दोस्रो चरणको आक्रमण गर्न तयार थियो, तर ट्रम्पलाई त्यो आवश्यक पर्ला जस्तो लाग्दैन । यद्यपि उनले 'आवश्यक परे अरूको पछि लाग्न पनि तयार रहेको' भन्दै अन्य भेनेजुएली नेताहरूलाई चेतावनी दिएका छन् ।
Retrieved from Tech pana

0 Comments